साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न
News Desk
Mar-29 , 2025 तारिख 03:04 बिहान

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष श्री प्रदीपलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा लेखा नीति माथि छलफल गरी पारित गरेको छ।

सभामा कर्पोरेशनको कारोवार विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले आ.व. २०७९/८० को सम्पूर्ण कारोवार समग्रमा सन्तोषजनक रहेको र वित्तीय क्षेत्रमा कर्पोरेशनको लगानी उपलब्धिमूलक रहेको जानकारी दिनुभयो। उहाँले सो अवधिमा नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य उपभोग्य वस्तुहरूको गरी करिब रू. ४४ अर्ब ८ करोड बराबरको कारोवार गरिएको र सो अवधिमा कर्पोरेशनले रू. १ अर्ब ८ करोड नाफा आर्जन गर्न सफल भएको जानकारी गराउनुभयो।

साधारण सभाले सो आ.व. २०७९/८० मा प्राप्त नाफाबाट चुक्तापुँजीको १५ प्रतिशत दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, सभाले सो अवधिमा सुनकोशी नदी लगायतका विभिन्न स्थानहरूमा आएको बाढीपहिरोका कारण जनधन तथा संरचनामा पुगेको क्षतिको राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीतर्फबाट संयुक्त रूपमा रू. ५० लाख उपलब्ध गराएको जानकारी गराइएको छ।

अध्यक्ष श्रेष्ठले नेपाल सरकारको निर्देशनअनुसार कर्पोरेशनले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न उपभोग्य वस्तुहरू लागत मूल्यभन्दा कम मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको बताउनुभयो। उहाँले रासायनिक मल बिक्रीमा समेत कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रामा मल बिक्री गर्नुका साथै अनुदान बाहेकको रासायनिक मल (एमोनियम सल्फेट, जिप्सम, सिंगल सुपर फस्फेट) कृषकहरूलाई सहज रूपमा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

सभाको अन्त्यमा अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीति अनुरूप मुलुकभर उपभोक्तालाई गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्थापन गर्दै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै नयाँ कारोबार खोजी गर्ने, व्यापार विविधीकरण गर्ने र समावेशी तथा नविनतम व्यावसायिक रणनीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।