प्राधिकरणले नियमित विद्युत आपूर्ति सुरु गरेकोमा नेपाल धागो उत्पादक संघद्वारा खुशी व्यक्त
News Desk
Mar-31 , 2025 तारिख 05:49 बेलुका

१७ चैत २०८१, काठमाडौं – औद्योगिक क्षेत्रमा लामो समयदेखि जारी लोडसेडिङका कारण प्रभावित हुँदै आएका नेपालका धागो उद्योगहरू नियमित बिजुली आपूर्ति हुन थालेपछि उत्साहित भएका छन्। नेपाल धागो उत्पादक संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप बिजुली आयात गरी औद्योगिक क्षेत्रका लागि नियमित आपूर्ति सुरु गरेकोमा खुशी व्यक्त गरिएको छ।

संघका अनुसार, निर्यातमुखी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उद्योगी, कामदार तथा सरकारको राजस्व आम्दानीमा गम्भीर असर परेको थियो। घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि उद्योगहरूले दैनिक १२ घण्टासम्म बिजुली कटौती भोग्नु परेको थियो, जसका कारण उत्पादन लागत बढ्नुका साथै निर्यात प्रवद्र्धनमा समेत बाधा पुगेको थियो।

संघले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन पहल गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जा मन्त्री, परराष्ट्र मन्त्री तथा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको छ। संघका अध्यक्ष पवन कुमार गोल्याणद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको सार्थक प्रयास निरन्तर रहनुपर्ने उल्लेख गरिएको छ।

नेपाल धागो उत्पादक संघका अनुसार, यस उद्योगबाट उत्पादन हुने ८० प्रतिशतभन्दा बढी वस्तु विभिन्न देशहरूमा निर्यात गरिन्छ। वि.सं. २०५३ मा स्थापना भएदेखि वार्षिक रूपमा करिब ४० हजार मेट्रिक टन धागो निर्यात हुँदै आएको छ। निर्यातमार्फत राज्यको अर्थतन्त्रमा योगदान पु¥याइरहेको यस उद्योगलाई चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने संघको माग छ।

नेपालको औद्योगिक विकासका लागि ऊर्जा आपूर्ति प्रमुख बाधक बनेको उल्लेख गर्दै संघले उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ।

धेरै पढिएको