News Desk
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोबत्रान सिनावात्राको उपस्थितिमा बैंककमा उक्त समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानन्दिचाईले हस्ताक्षर गर्नुभयो।
समझदारीअनुसार नेपाल र थाईल्याण्डबीच पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन, तथा नेपालका विभिन्न क्षेत्रको सांस्कृतिक प्रवर्द्धनका लागि सहकार्य गर्ने उल्लेख गरिएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई पहिचान गरी संयुक्त बजार प्रवर्द्धन, नागरिक उड्डयन क्षेत्रमा सहकार्य, सम्पदा तथा संस्कृतिको आदानप्रदान, व्यापार तथा लगानी प्रवर्द्धन, र क्षमता अभिवृद्धिका लागि आपसी सहयोग गर्ने सहमति भएको जनाइएको छ।
यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा पनि सहमति जुटेको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन समेत यो समझदारी महत्वपूर्ण रहने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा निजी क्षेत्रका प्रतिनिधिका रूपमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, तथा मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा सहभागी हुनुहुन्छ।