News Desk
अमेरिकाले नेपालबाट आयात हुने वस्तुमाथि १० प्रतिशत कर थपेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नेपालसहित १०० देशमाथिको करको नयाँ दरसम्बन्धी सूची सार्वजनिक गरेका हुन।
यससँगै नेपालबाट अमेरिका निर्यात हुने वस्तुमा अमेरिकी सरकारलाई १० प्रतिशत कर तिर्नुपर्नेछ। नेपालले अमेरिकी वस्तु आयातमा लगाउँदै आएको १० प्रतिशत करको बदलामा अमेरिकाले १० प्रतिशत नै कर थपेको हो। १० प्रतिशत करलाई अमेरिकाले आधारभूत लाइन बनाएको छ।
उसले नयाँ करसम्बन्धी एक तालिका सार्वजनिक गर्दै अमेरिकी वस्तुमा लगाइँदै आएको कर र अमेरिकाले थपेको करको विवरण उल्लेख गरेको छ। ट्रम्पले करको नयाँ दरलाई डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफको नाम दिनुभएको छ। ट्रम्पले भनेको रेसिप्रोकल ट्यारिफ अनुसार अरु कयौँ देशले ठूलो मात्रामा छुट पाउँदा नेपाल जस्तो १० प्रतिशत मात्र कर लगाउने देश भने मारमा परेका छन।
सूचीअनुसार भारतले अमेरिकी सामान आयातमा ५२ प्रतिशत कर लगाउने गरेकोमा अमेरिकाले उसमाथि २६ प्रतिशत कर मात्र लगाएको छ । चीनले ६७ प्रतिशत कर लगाउने गरेकोमा उसमाथि ३४ प्रतिशत कर लगाइएको छ। यो आधारमा यी देशहरुले झण्डै आधा छुट पाउँदा १० प्रतिशत मात्र कर लगाउने नेपाल जस्ता देश मारमा परेका छन।
१० प्रतिशत कर लगाइएका नेपालसहितका देशमाथिको यो कर अमेरिकी समयअनुसार ५ अप्रिल राति १२ बजेर १ मिनेटमा लागू हुनेछ। १० प्रतिशत भन्दा बढी कर ९ अप्रिलमा शुरु हुनेछ।