News Desk
नेपाल चेम्बर अफ कमर्शले बैंकक, थाईल्याण्डका लागि आफ्नो व्यापार प्रतिनिधिको रूपमा कैलाश श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठ १८ वर्षभन्दा बढी समयदेखि व्यापारिक क्षेत्रमा सक्रिय रहँदै आयात तथा निर्यात व्यवसाय गर्दै आउनुभएको छ। उहाँले नेले स्विफ्ट रिसोर्सेज प्रा.लि. कम्पनीमार्फत विभिन्न देशहरूसँग व्यापार गर्दै नेपाल व्यापार प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। साथै, श्रेष्ठले सूचना प्रविधि (आईटी) क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली IT Software को पहिचान बनाउने कार्यमा समेत सक्रिय रहनुभएको छ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्री कमलेश कुमार अग्रवालले थाईल्याण्डमा आयोजित विशेष कार्यक्रममा एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य समेत रहनुभएका श्रेष्ठलाई "चेम्बर अनररी रिप्रेजेन्टेटिभ्स" को प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। उक्त अवसरमा अध्यक्ष अग्रवालले श्रेष्ठलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना दिनुभएको थियो।
नेपाल चेम्बर अफ कमर्शले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल र थाइल्याण्डबीचको व्यापार प्रवर्द्धन, पर्यटन विस्तार तथा लगानी प्रवाहमा सहकार्य गर्न श्रेष्ठलाई अनररी रिप्रेजेन्टेटिभ्सका रूपमा चयन गरिएको हो। अध्यक्ष अग्रवालका अनुसार थाईल्याण्डमा नेपालीहरूको उल्लेख्य बसोबास रहेको छ र व्यापारिक दृष्टिकोणले पनि यो मुलुकलाई विशेष महत्त्वका साथ हेरिएको छ।
अध्यक्ष अग्रवालले नेपालबाट थाईल्याण्डमा निर्यातको राम्रो सम्भावना रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा अर्बौं रुपैयाँ बराबरको निर्यात भइसकेको जानकारी दिनुभयो। विशेषगरी घरेलु तथा हस्तकलाका सामग्री, कार्पेट आदिको निर्यातका लागि थाईल्याण्डलाई उपयुक्त बजारका रूपमा चिनाउनुभयो। साथै, उहाँले थाईल्याण्डमा रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी भित्र्याउन पनि आग्रह गर्नुभयो।
प्रतिनिधि नियुक्त भएका श्रेष्ठले पनि नेपालमा लगानी भित्र्याउने र व्यापार सहजीकरणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले निर्यात प्रवर्द्धनमा सक्दो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त विशेष कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श सल्लाहकार परिषदका अध्यक्ष श्री राजेश काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोत्रा तथा उपाध्यक्ष अर्जुन प्रसाद शर्माको पनि उपस्थिति रहेको थियो। नेपाल चेम्बर अफ कमर्शले विभिन्न मुलुकहरूमा व्यापार सहजीकरण र निर्यात प्रवर्द्धनका लागि प्रतिनिधि चयन गर्ने प्रक्रिया निरन्तर रूपमा अगाडि बढाउँदै आएको छ।