भृकुटीमण्डपमा आजबाट फूड फेस्टिभल सुरु, प्रवेश निशुल्क
News Desk
Apr-19 , 2025 तारिख 11:41 बिहान

काठमाडौँ । नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा राजधानीको भृकुटीमण्डपमा आजदेखि "फूड फेस्टिभल " सुरु हुँदैछ। नेपाली सेफहरूको व्यक्तित्व विकास, पाककलाको प्रवर्द्धन तथा नेपाली खानाको स्तरोन्नतिको उद्देश्यसहित वैशाख ६ गते आयोजना हुने यस फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक अरुण अधिकारीले जानकारी दिए।

उनका अनुसार यो कार्यक्रम सेफहरूको कुम्भमेलाका रूपमा आयोजना गरिएको छ र विश्वभरबाट करिब ५०० हाराहारीका नेपाली सेफहरू नेपाल आउने अपेक्षा गरिएको छ। आफ्नो पाककला मार्फत पहिचान बनाइसकेका सेफहरूले नेपालमा पाककलाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। फेस्टिभलअघिको दिन, वैशाख ५ गते, अन्तरकलेज कुकिङ प्रतियोगिता समेत आयोजना ग​रिएको छ​ ।

वैशाख ६ गतेको मुख्य कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ भने सेफहरूले आफ्नो पाककला प्रदर्शन गर्नेछन्। त्यस अवसरमा विश्वभरबाट आएका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड पनि प्रदान गरिनेछ। कार्यक्रम पर्यटन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने तय भएको छ।

फेस्टिभलमा करिब ५० वटा स्टलहरू रहनेछन्, जसमा ४० वटा नेपाली खानाका, ५ वटा रैथाने बाली तथा नालीको प्रदर्शन र ५ वटा पर्यटनसम्बन्धी जानकारी दिने स्टलहरू हुनेछन्। खानाका स्टलहरूमा नेवारी, थकाली, थारु, राई-लिम्बु आदि जातजातिको परिकार, साथै मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्नोको सुप, दाल-भात, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी र फलफूलसमेत समावेश हुनेछन्।

संयोजक अधिकारीका अनुसार सोसाइटीको शाखा हालसम्म ३८ देशमा विस्तार भइसकेको छ, जसमा १६ देशमा कार्यसमिति गठन भइसकेको छ भने अन्य देशहरूमा विस्तारको प्रक्रिया जारी छ। सन् २०१८ मा युएईबाट सुरु भएको यो संस्था हाल नेपालको कानुनअनुसार ‘नेपाली सेफ सोसाइटी’को नाममा दर्ता छ। अन्तर्राष्ट्रिय सेफ सोसाइटी र नेपाली सेफ सोसाइटी एउटै संरचना अन्तर्गत क्रियाशील छन्।

संस्थाका अध्यक्ष एलबी कौशलका अनुसार विश्वव्यापी स्तरमा नेपाली पाककलाको बजारीकरण र सेफ पेशाको सम्मान वृद्धि गर्ने उद्देश्यले सोसाइटी स्थापना गरिएको हो। हालसम्म ३५ हजारभन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत छन् भने ५ हजारभन्दा बढी सदस्य संस्थागत रूपमा आबद्ध छन्।

फूड फेस्टिभलको उद्देश्य नेपाली सिस्नो, ढिँडो लगायत सम्पूर्ण परम्परागत खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्नुका साथै नेपालको पर्यटन र कृषि उत्पादनलाई समेत उजागर गर्नु हो। कार्यक्रममा अन्तर्राष्ट्रिय सेफ सोसाइटीको पहिलो महाधिवेशनसमेत हुने र नयाँ कार्यसमिति चयन गरिने जानकारी आयोजकले दिएका छन्। प्रवासबाट सेफहरूको बाक्लो उपस्थिति रहनेछ।

आयोजकले यो ऐतिहासिक तथा वृहद् कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।

धेरै पढिएको