News Desk
काठमाडौं, वैशाख ६ l अवसरहरूको सकारात्मक सदुपयोग र ईमान्दार नियतमार्फत उत्कृष्ट परिणाम सम्भव छ भन्ने उदाहरण नेपाल डेरी एशोसिएसन तथा अध्यक्ष प्रल्हाद दाहलको नेतृत्वमा संचालित ‘मोही अभियान’ बनेको छ। बहुराष्ट्रिय कम्पनीका रासायनिक पेय पदार्थहरूको प्रभावशाली बजारलाई चुनौती दिंदै, नेपाली मौलिक पेय मोही को प्रयोगलाई प्रवर्द्धन गर्ने यो अभियान आज अनुकरणीय रूपमा स्थापित हुँदै गएको छ।
अब विहे, भोज, सरकारी कार्यक्रम, स-साना जमघटदेखि ठूला सम्मेलनसम्म पनि मोही पिउनु अब हिनताबोध होइन, गौरवको विषय बन्न थालेको छ। यही सन्देश बोकेको अभियान हालै एक विशेष अवसरमा पुनः उदाहरणीय रूपमा प्रस्तुत भयो।
केन्द्रीय सदस्य पशुपति देव पाण्डेको जन्मदिनमा मोहिपान
नेपाली मौलिकता र स्वस्थ जीवनशैलीप्रतिको आग्रहलाई जीवन्त रूपमा प्रस्तुत गर्दै, फन्कीका केन्द्रीय सदस्य पशुपति देव पाण्डेको जन्मदिन दरबारमार्गमा विशेष समारोहसहित मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्री माननीय दामोदर भण्डारी, कृषि उद्यम केन्द्रका उपाध्यक्ष तथा नेउवा महासङ्घका केन्द्रीय सदस्य राजकुमार कार्कीसहितको उपस्थितिमा जन्मदिनको भोजमा समेत मोहिपान गरियो।
कार्यक्रममा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहलले नेपाली मौलिकता जोगाउने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने सन्देश दिँदै ‘मोही अभियान’ लाई जीवनशैलीमै बदल्ने संकल्प दोहोर्याए।
कार्यक्रममा आमन्त्रित भए तापनि उपस्थित हुन नसकेको भन्दै केही विशिष्ट व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत पशुपति देव पाण्डेलाई शुभकामना व्यक्त गरेका छन्। उनीहरूले यस्तो अनुकरणीय तरिकाले जन्मदिन मनाउनु एउटा सांस्कृतिक पुनर्जागरण को संकेत भएको उल्लेख गरेका छन्।
कार्यक्रमको विशेष आकर्षण बन्यो, गर्मी मौसममा ठण्डा, स्वादिलो र स्वास्थ्यबर्द्धक पेयको रूपमा मोहिको प्रयोग। उपस्थित अतिथि र सहभागीहरूलाई मोहिपान गराउँदै नेपाली स्वाद, मौलिकता र स्वदेशी उत्पादन को सम्मान गरिएको थियो।
नेपाल डेरी एशोसिएसनको मोही अभियान एक मात्र उपभोक्ता अभियान मात्र नभई, आत्मसम्मान र मौलिकतालाई पुनःस्थापित गर्ने क्रान्तिकारी प्रयासको रूपमा अघि बढिरहेको छ। यस्ता अभियानहरूले राष्ट्रिय स्तरमा स्वास्थ्य, स्वदेशी उत्पादनको प्रयोग र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइरहेका छन्।