सुकुटे पर्यटकीय क्षेत्र घोषणा, व्यवसायीहरूमा उत्साह थपियो
News Desk
Apr-29 , 2025 तारिख 11:52 बिहान

वैशाख १५ | सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेपछि स्थानीय व्यवसायीहरूमा नयाँ ऊर्जा सञ्चार भएको छ। घोषणासँगै सरकारले पर्यटन पूर्वाधार सुदृढीकरण, प्रचारप्रसार तथा सुरक्षामा विशेष ध्यान दिन अपेक्षा गरिएको छ।

सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आर्थिक गतिविधिमा वृद्धिको अपेक्षा गरिएको छ भने रोजगारी सिर्जना र कोरिडोर क्षेत्रको पूर्वाधार विकासको बाटो पनि खुलेको छ। नगरपालिकाले उठाएको यो कदमले सुकुटे क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

विगत केही वर्षयता सुकुटे आन्तरिक तथा विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। विशेष गरी बोटिङ, र्‍याफ्टिङ, रिसोर्ट, क्याम्पिङ, र प्राकृतिक सौन्दर्यका कारण यहाँ पर्यटन गतिविधि उल्लेख्यरूपमा बढेको छ। पर्यटकीय क्षेत्रको मान्यता पाएसँगै व्यवसायीहरू थप लगानी र सेवा विस्तारका तयारीमा जुट्न थालेका छन्।

सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरेसँगै यस क्षेत्र मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने आशा गरिएको छ। प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि उपयुक्त सुकुटे क्षेत्रमा करिडोर हरियाली र्‍याफ्टिङ जोनको रूपमा विकास गर्ने र जुगल हिमालको प्रवेशद्वारका रूपमा सुकुटे क्षेत्रलाई स्थापित गर्ने योजना अघि सारिएको छ।

स्थानीय व्यवसायी, समुदाय र पर्यटन प्रवर्द्धनमा संलग्न सरोकारवालामा यस घोषणाले ठूलो आशा जगाएको छ। यद्यपि, घोषणा मात्र पर्याप्त नहुने भएकाले दीर्घकालीन योजना बनाएर यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ।