गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा
News Desk
May-12 , 2025 तारिख 11:43 बिहान

काठमाडौं | नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदका लागि गठन गरिएको सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुभएको छ। समितिमा अर्थमन्त्री संयोजक र पौडेल सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो।

पौडेलसँगै पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि समितिमा सदस्य छन्। अधिकारी यसअघि समितिबाट बाहिरिएका पूर्व गभर्नर विजयनाथ भट्टराईको स्थानमा सहभागी भएका हुन्। भट्टराईले समितिको बैठक नै नबसी प्रक्रिया अघि नबढेको भन्दै पदबाट बाहिरिनुभएको थियो। अब पौडेलले पनि राजीनामा दिएपछि सिफारिस समिति फेरि अपूर्ण बनेको छ।

सरकारले राष्ट्र बैंकको गभर्नर पद एक महिनाभन्दा बढी समयदेखि खाली राखेको छ। राजनीतिक सहमति अभावले गर्दा समिति पूर्ण रूपमा सक्रिय बन्न सकेको छैन, जसले गर्दा अहिलेसम्म न त बैठक बसेको छ, न त उम्मेदवारको सिफारिस नै गरिएको छ।

यसैबीच, सत्तारूढ दलहरूबीच शनिबार बसेको शीर्ष नेताहरूको बैठकमा डा. पौडेलको नाम गभर्नर पदका लागि सम्भावित दावेदारका रूपमा उठाइएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अगाडि सारेको भनिएको छ।

यद्यपि, गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्नका लागि पहिलो सर्त भनेकै सिफारिस समितिले पूर्णता पाउनु हो। त्यसपछि मात्र समिति तीन जनाको नाम सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले अन्ततः एक जनाको छनोट गर्नेछ।