News Desk
नेपाल चेम्बर अफ कमर्सले सोमबार अर्थ मन्त्रालयमा बजेटसम्बन्धी औपचारिक सुझाव पेश गर्दै विद्युतीय सवारीमा कर नबढाउन आग्रह गरेको छ। चेम्बरको भनाइ छ—विद्युतीय सवारी साधनले पेट्रोलियमको आयात घटाउने, आन्तरिक विद्युत खपत बढाउने र वातावरणमा सकारात्मक असर पार्ने भएकाले यस्तो प्रविधिमा कर वृद्धि गर्नु उचित हुँदैन। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा कर बढाउने संकेत गरेपछि निजी क्षेत्रका व्यवसायीहरूले वातावरणमैत्री प्रविधिको प्रवर्द्धन गर्नुपर्ने बेला कर वृद्धिको तयारी उल्टो दिशातर्फको कदम भएको भन्दै आपत्ति जनाएका हुन।
साथै, चेम्बरले व्यक्तिगत आयकर छुटको सीमा पुनरावलोकन गरी एकल व्यक्तिका लागि १० लाख र परिवारका लागि १२ लाखसम्मको छुट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। घरेलु साना तथा मझौला उद्योगलाई ५ देखि १० वर्षसम्म स्थिर ब्याजदरमा ऋण सुविधा दिनुपर्ने माग पनि बजेटमा समावेश हुनुपर्ने भनिएको छ।
यसबाहेक, आइतबार नेपाल उद्योग वाणिज्य महासंघले पनि अर्थ मन्त्रालयलाई आफ्ना सिफारिस पेश गर्दै सर्वसाधारणको क्रयशक्ति बढाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने र विकास बजेटको आकार बढाउने विषयलाई प्राथमिकता दिन आग्रह गरिसकेको छ। महासंघले सरकारी खर्चमा कटौती गरेर पूँजीगत खर्चलाई बढावा दिनुपर्ने धारणा राखेको छ।
निजी क्षेत्रका तीनवटै छाता संगठनहरूको साझा धारणा भनेको कर प्रणालीमा सुधार, नीतिगत स्थिरता र लगानीमैत्री वातावरणको निर्माण हो। उनीहरूले हालको अनिश्चित नीतिले लगानीकर्तामा अन्योलता सिर्जना गरेको भन्दै सरकारलाई नीतिगत स्थायित्व सुनिश्चित गर्न आग्रह गरेका छन। २०८२–९२ लाई ंलगानी दशकं को रूपमा घोषणा गर्नुपर्ने र त्यसअनुसार स्थायित्वमा जोड दिनुपर्ने सिफारिससमेत व्यवसायीले गरेका छन।
नेपाल उद्योग परिसंघले भने आयात निरुत्साहित गर्ने नीति आवश्यक रहेको बताउँदै कच्चा पदार्थको भन्सार दर तयारी वस्तुमा लाग्ने भन्दाभन्दा कम हुनुपर्ने स्पष्ट पारेको छ। सँगै, भन्सार चोरी नियन्त्रण गर्ने उपाय कडाइका साथ लागू गर्न र कम्तीमा २०–३० वर्षका लागि दीर्घकालीन पूर्वाधार गुरुयोजना ल्याउनुपर्ने सुझाव पनि उसले दिएको छ।
निजी क्षेत्रको धारणा स्पष्ट छ—अबको बजेटले देशको आर्थिक वृद्धिमा गति दिनु छ भने नीतिगत स्थिरता, करमैत्री व्यवस्था र उद्यमशीलतालाई मुख्य प्राथमिकता दिनैपर्छ। व्यवसायीहरूको असन्तुष्टि यसैबाट स्पष्ट हुन्छ कि सरकारको निर्णयको सानोतिनो असरले पनि उनीहरूको लगानी रणनीतिमा गहिरो प्रभाव पार्छ।