News Desk
म्याग्दे, ३ जेठ। म्याग्दे गाउँपालिकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। रोजगारीको अवसर सीमित भइरहेका बेला युवाहरूको मागअनुसार तालिममार्फत सिप प्रदान गरी आयआर्जनको बाटो खोल्न गाउँपालिका सक्रिय भएको हो।
हाल म्याग्दे गाउँपालिकाका युवा तथा युवतीहरू आत्मनिर्भर र स्वावलम्बी बन्ने लक्ष्यसहित तालिममा उत्साहपूर्वक सहभागी भइरहेका छन्। लघुउद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत गरिबी निवारण तथा उद्यमशिलता प्रवर्द्धनका लागि विभिन्न सिप तालिम सञ्चालन गरिनेछ। ती तालिमहरूमा क्रिस्टल गहना निर्माण, हर्पिक, फिनेल, झोल साबुन बनाउने, वारीष्ठा कफी उत्पादन, पञ्चेबाजा बजाउने, कुकिङ, होमस्टे व्यवस्थापन आदि रहेका छन्।
सिप नभएकाहरूलाई लक्षित गरी सक्रिय सहभागिता भइरहेको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताए। उनका अनुसार उद्यमशीलता विकासका लागि अभिमुखीकरण, घरधुरी सर्वेक्षण तथा पूर्वतयारी तालिमहरू सञ्चालन भइरहेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा वडा नं. ३, ४, ५ र ६ का गरी ७५ जनालाई तालिम दिने लक्ष्य रहेको पनि उनले जानकारी दिए। "कम लगानीमा सञ्चालन गर्न सकिने लघु, घरेलु तथा साना उद्योगतर्फ युवाहरूको आकर्षण बढेको छ," न्यौपानेले भने।
प्रमुख प्रशासनिक अधिकृत नारायण प्रसाद अधिकारीले तालिम कार्यक्रममार्फत स्थानीयस्तरमा आर्थिक क्रियाकलाप वृद्धि गर्ने, नवप्रवर्द्धन अवधारणालाई आत्मसात गर्दै समावेशी र दिगो आर्थिक विकासको आधार तयार पार्ने लक्ष्य रहेको बताए। साथै, स्थानीय तहमा निजी, सामुदायिक तथा सहकारी क्षेत्रको अधिकतम परिचालनमार्फत आर्थिक वृद्धि प्रवर्द्धन गर्ने योजना रहेको पनि उनले स्पष्ट पारे।
गाउँपालिकाले चालु आर्थिक वर्षमा नवप्रवर्द्धन तथा वृद्धिमुखी उद्यमशीलता प्रवर्द्धन कार्यक्रममार्फत रोजगारी सृजनामा ठूलो ध्यान दिएको छ। स्वदेशी तथा स्थानीय उत्पादन प्रवर्द्धन, उत्पादन र उत्पादकत्व वृद्धि, युवालाई व्यवसायमा आकर्षण गराउन ‘बिजनेस स्टार्टअप सम्मेलन’ पनि आयोजना गरिसकेको जानकारी अधिकारीले दिए।
“युवाहरूको माग र चाहनालाई ध्यानमा राखी तालिम तथा प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई प्राथमिकता दिइएका छन्,” आर्थिक विकास शाखा प्रमुख न्यौपानेले बताए।