News Desk
काठमाडौं, जेष्ठ ७, २०८२ | उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले हाल सामाजिक सञ्जालमा फैलिरहेको लोडसेडिङ्गको चर्चा निराधार रहेको स्पष्ट पार्नुभएको छ।
बुधबार बसेको संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले हालको विद्युत आपूर्तिमा कुनै औपचारिक लोडसेडिङ कार्यक्रम नभएको बताउनुभयो। उहाँका अनुसार केही व्यक्तिले सस्तो लोकप्रियताका लागि यस्तो हल्ला फैलाएका छन्।
मन्त्री खड्काले विद्युत् अवरोध केवल मर्मतसम्भार वा प्राकृतिक कारणले अस्थायी रूपमा हुन सक्ने बताउँदै भन्नुभयो, “बिजुली काटिने अवस्था पहिले पनि थियो, अहिले पनि हुन सक्छ, तर त्यसलाई लोडसेडिङ भन्न मिल्दैन।”
उहाँले विगत वर्षहरूमा पनि करीब ७ सय घण्टा विद्युत आपूर्ति रोकिएको उदाहरण दिँदै, कहिले प्राकृतिक विपद्, कहिले संरचनागत क्षति वा प्राविधिक कारणहरूले समस्या आउने गरेको जानकारी दिनुभयो।
साथै, मन्त्री खड्काले नेपालको समृद्धिको आधार विद्युत क्षेत्रमै रहेको भन्दै यसको दिगो विकासमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।