News Desk
काठमाडौं, जेठ १५ | सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटको करिब ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान सार्वजनिक गरेको छ। आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको संशोधित खर्च अनुमान सार्वजनिक गरेका हुन्।
उनका अनुसार चालु आवका लागि सरकारद्वारा विनियोजित १८ खर्ब ६० अर्बमध्ये अन्तिम त्रैमाससम्ममा १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्र खर्च हुने देखिएको छ। यसले सरकारले लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको स्पष्ट हुन्छ।
खर्च संरचना हेर्दा, चालु तर्फको बजेट ८८.५ प्रतिशत मात्र प्रयोग हुने अनुमान गरिएको छ भने पूँजीगत खर्च झन् कमजोर हुँदै ८३ प्रतिशतमा सीमित हुने देखिन्छ। भनेको समयमा योजना सम्पन्न नहुनु र प्रशासनिक ढिलाइ पूँजीगत खर्चमा कमजोरीको प्रमुख कारणका रूपमा देखिन्छ।
वित्तीय व्यवस्थातर्फको बजेट खर्च भने तुलनात्मक रूपमा उच्च रहने देखिएको छ — यसतर्फ ९७.६ प्रतिशत रकम खर्च हुने सरकारको आकलन छ।
यसैबीच, अर्थमन्त्री पौडेलले चालु आवमा राजस्व संकलन १७.१ प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेका छन्। यो अनुमान राजस्व प्रशासनको सुधार र आर्थिक गतिविधिमा आएको आंशिक पुनरुत्थानका आधारमा गरिएको बताइएको छ।
सरकारको यो प्रक्षेपणले बारम्बार उठ्दै आएको बजेट कार्यान्वयनमा देखिने कमजोरी र पूँजीगत खर्चमा हुने ढिलाइ सम्बन्धी चिन्तालाई पुनः उजागर गरेको छ।