News Desk
काठमाडौं, जेठ १५ | सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को आय–व्ययको अनुमान प्रस्तुत गर्नुभयो।
बजेटमा कुल खर्चमध्ये चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ६०.१ प्रतिशत हो। त्यस्तै, पुँजीगत खर्चतर्फ चार खर्ब सात अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ।
अर्थमन्त्री पौडेलका अनुसार, चालु आर्थिक वर्षको तुलनामा यो बजेट ५.६ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी छ।
प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ।
बजेटमा उल्लेख गरिएअनुसार, कुल खर्च धान्न सरकार आन्तरिक स्रोत र वैदेशिक सहयोगमा निर्भर रहनेछ। आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ भने वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसबाहेक बाँकी पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट घाटा पूर्ति गर्न सरकारले तीन खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण र दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य ऋणमार्फत व्यवस्था गर्ने योजना सार्वजनिक गरेको छ।