नेपाल चेम्बर अफ कमर्सको ७५ औं वर्षगाँठको हीरक जयन्ती लोगो सार्वजनिक
News Desk
May-30 , 2025 तारिख 10:11 बेलुका

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७५ औं वर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्ती समारोहको लोगो आज एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित समारोहमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष तथा हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन।

देशभरि चेम्बर अभियानको ७५ औं वार्षिकोत्सवको अवसर पारेर चेम्बरले यो वर्षलाई हीरक जयन्ती वर्षको रूपमा भव्यरूपमा मनाउने तयारी गरेको छ। यसै सन्दर्भमा, हीरक जयन्ती सफल बनाउनका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरिसकेको छ।

नेपाल चेम्बर अफ कमर्सले विगत ७५ वर्षमा देशको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक समृद्धि र व्यवसायिक वातावरण सुदृढीकरणका लागि खेलेको भूमिकालाई यस वर्ष उजागर गरिने जनाइएको छ। यथार्थमा, वि।सं। २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सबैभन्दा पुरानो र अग्रणी संस्था हो, जसले निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै आएको छ।

हीरक जयन्तीको अवसरमा आयोजना गरिने कार्यक्रमहरू विविध र दीर्घकालीन प्रभाव पार्ने खालका हुने सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। उनले भने, “७५ औं वर्षगाँठ एक ऐतिहासिक उपलब्धि हो, र यसलाई देशभरका व्यवसायिक समुदायसँग एकतामा बाँध्दै स्मरणीय बनाउने प्रयास हुनेछ।”

चेम्बरका अध्यक्ष कमलेश अग्रवालले भने, हिजो अर्थात जेठ १५ गते प्रस्तुत गरिएको १९ खर्ब ६४ अर्बको बजेटको प्रसङ्ग उठाउँदै त्यसको ऐतिहासिक पृष्ठभूमिमा नेपाल चेम्बर अफ कमर्सको योगदानको चर्चा गरे। उनले भने, “वि।सं। २००८ सालमा प्रस्तुत भएको नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो। त्यसबेला पनि चेम्बरले बजेटमा सुझाव प्रस्तुत गरेको थियो। अहिलेको बजेटको आकारसम्म आइपुग्दा चेम्बरले खेलेको भूमिका उल्लेखनीय छ।”

चेम्बरले यस हीरक जयन्ती वर्षलाई विशेष अवसरको रूपमा लिएर नमुना कार्यक्रमहरू सञ्चालन गर्ने, निजी क्षेत्रको उन्नयन तथा सरकार–निजी क्षेत्र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमहरू तयार गरेको जनाएको छ।

धेरै पढिएको