बूढीगण्डकी जलविद्युत आयोजनाका लागि जुट​यो लगानी
News Desk
Aug-09 , 2025 तारिख 07:02 बिहान

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ l साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। 

अनुमानित ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि ५२ अर्ब ५० करोड लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे।

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्। 

साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुछ बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन्। सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ।

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० पनि भइसकेको छ। वर्षायामका लागि प्रतियुनिट चार रुपैयाँ ८० पैसा, सामान्य सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायामका लागि १० रुपैयाँ ५५ पैसामा बिक्री गर्ने गरी सम्झौता गरिएको छ। 

कूल २५ प्रतिशत लगाानी अर्थात १७ अर्ब ५० करोड भने प्रवद्र्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। टाइम्स इनर्र्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ।

परियोजनामा प्रतिमेगावाट २० करोड ५३ लाख लगानी हुनेछ। परियोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ।