नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले सञ्चालनमा आएपछि दुई सातामा २ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकामा दैनिक औसत १३ करोडभन्दा बढी राजस्व उठेको हो।
रसुवागढी र तातोपानी नाका बाढीपहिरोले अवरुद्ध भएपछि यहाँबाट विद्युतीय सवारीसाधन र मालसामानको आयात बढेको भन्सार प्रमुख रमेश खड्काले बताए। चीनबाट आएका १,१०९ विद्युतीय सवारीमध्ये ९६५ को भन्सार पास भइसकेको छ।
नाका सञ्चालनसँगै मुस्ताङमा व्यापारिक चहलपहल र स्थानीय युवाको रोजगारी बढेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। दसैँ बिदापछि भन्सारको नियमित काम असोज २१ गतेदेखि सुरु हुने जनाइएको छ।