News Desk
पोखरा, कात्तिक १० | तिहार बिदाको अवसरमा हिमाली जिल्ला मुस्ताङ पर्यटकले खचाखच भरिएको छ। बिदा सदुपयोग गर्दै देश–विदेशका पर्यटक मुस्ताङको प्राकृतिक सुन्दरताको अवलोकन गर्न पुगेका छन्। हाल पोखराबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पर्वतको कुश्मा र म्याग्दीको बेनी पार गरेर मुस्ताङ पुग्ने सडक सहज र आकर्षक बनेकाले यात्रुहरूको भीड झन् बढेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रमुख प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार कात्तिक १ देखि ७ गतेसम्मको सात दिनको अवधिमा मात्रै १९ हजार ४४४ जना पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये १७ हजार १२९ जना स्वदेशी र २ हजार ३१५ जना विदेशी रहेका छन्। यो तथ्यांकअनुसार स्वदेशी पर्यटक विदेशीको तुलनामा झण्डै ६४० प्रतिशतले बढी रहेका छन्।
प्रहरीले संकलन गरेको तथ्यांकले देखाउँछ कि मुस्ताङ पुग्ने स्वदेशी पर्यटकमध्ये महिलाको संख्या पुरुषभन्दा बढी छ। उक्त अवधिमा ८ हजार ७२७ महिला र ८ हजार ४०२ पुरुष मुस्ताङ पुगेका छन्, जसअनुसार महिलाको उपस्थिति ३.८७ प्रतिशतले बढी हो। तर विदेशी पर्यटकको हकमा भने पुरुषको संख्या बढी रहेको छ — एक सातामै १,३३३ जना विदेशी पुरुष र ९८२ जना महिला मुस्ताङ पुगेका छन्, जसअनुसार पुरुष पर्यटक महिलाभन्दा करिब ३५ प्रतिशतले बढी छन्।
चालु आर्थिक वर्ष २०८२/०८३ को सुरुवातदेखि अहिलेसम्म मुस्ताङ पुग्ने कुल पर्यटक संख्या एक लाख ३८ हजार ३३ पुगेको छ। प्रहरी नायब उपरीक्षक लामाका अनुसार साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०९, असोजमा ७५ हजार ५९९ र कात्तिकको पहिलो सातामा १९ हजार ४४४ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।
पर्यटन व्यवसायीहरूले तिहार बिदा र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटनको केन्द्रबिन्दु बनेको बताएका छन्। उनीहरूका अनुसार अन्नपूर्ण हिमशृङ्खलाको दृश्य, मुक्तिनाथ मन्दिर, जोमसोम, मार्फा, लोमान्थाङलगायत क्षेत्रको आकर्षणले पर्यटक तानिरहेका छन्।
तर यात्रुको अत्यधिक भीडका कारण जोमसोम, मार्फा, घासास, मुक्तिनाथलगायत क्षेत्रमा होटल र होमस्टेहरू फुलबुक भएका छन्। आवासको चाप बढेपछि केही पर्यटकलाई सवारीसाधनभित्रै रात बिताउनुपर्ने अवस्था समेत आएको छ।
यही भीड व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले विशेष अपिल जारी गर्दै होटल बुकिङ नगरी नजान आग्रह गरेको छ। प्रशासनले होटल, होमस्टे र आवास व्यवस्थापनका लागि स्थानीय पर्यटन व्यवसायीहरूसँग समन्वय गरेर विशेष व्यवस्था मिलाइने जनाएको छ।
कार्यालयले यात्रुको सुरक्षाका लागि ट्राफिक व्यवस्थापन, उद्धार टोली र स्वास्थ्य सहायता केन्द्रहरू तयारी अवस्थामा राखिएको जानकारी दिएको छ।
प्रशासनले भनेको छ “मुस्ताङमा अहिले असामान्य भीड छ। आवासको अभाव र यातायात चापका कारण यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले अग्रिम होटल बुकिङ गरी मात्र यात्रा योजना बनाउन अनुरोध छ।”
पर्यटन व्यवसायीहरूका अनुसार यो भीडले मुस्ताङको स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, तर भीड नियन्त्रण र वातावरणीय व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताएका छन्।