जापान सरकारबाट​ बिपी राजमार्गको पुनर्निर्माण र मर्मतका लागि नेपाललाई रु २ अर्ब ६० करोड बराबरको अनुदान सहायता प्रदान 
News Desk
Oct-31 तारिख 06:30 बिहान

काठमाडौँ | जापान सरकारले बिपी राजमार्गको पुनर्निर्माण र मर्मतका लागि नेपाललाई रु २ अर्ब ६० करोड बराबरको अनुदान सहायता प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट राजदूत तोरु मायदाले हस्ताक्षर गरे। कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालगृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित थिए।

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने देशको महत्वपूर्ण राष्ट्रिय मार्ग हो। यो राजमार्ग पनि जापानको अनुदान सहयोगमै निर्माण गरिएको हो।

गत वर्षको बाढी–पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो, विशेषगरी रोशी नदी नजिकका भागहरू पूर्णरूपमा नष्ट भएका थिए। यी क्षतिग्रस्त भागहरूको पुनर्निर्माण र मर्मतका लागि जापान सरकारले यो सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ।

उक्त समारोहमा नेपालका तर्फबाट सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच पनि अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो।

समारोहमा अर्थमन्त्री खनालले जापानलाई नेपालको दीर्घकालीन र विश्वसनीय विकास साझेदारको रूपमा व्याख्या गर्दै, आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले यस अनुदानलाई नेपाल–जापान मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको उल्लेख गरे।

जापानी राजदूत तोरु मायदाले बिपी राजमार्ग पुनःनिर्माणमा यो सहयोगले प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नेपाल–जापानबीचको दशकौँ पुरानो मित्रता र आपसी सहकार्यलाई स्मरण गरे भने जाइकाका प्रमुख मित्सुजाकी मिजुकीले दुई देशबीचको विकास सहकार्यका विविध क्षेत्रबारे धारणा राखे।

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।