उन्नत जातको लौकाको खेतीले सबैको ध्यान आकर्षित
News Desk
Nov-06 तारिख 06:55 बिहान

दाङको घोराही उपमहानगरपालिका–१५ मा गरिएको उन्नत जातको लौकाको खेतीले सबैको ध्यान आकर्षित गरेको छ। पूर्वशिक्षक रामहरी रिजालले नरेन्द्र सिवानी जातको लौका खेती गर्नुभएको हो, जसमा ६ फिटभन्दा लामो र करिब १० किलो तौलको विशाल लौका फलेका छन्।

अनलाइनमार्फत बीउ मगाई गरिएको यो खेती सफल भएपछि रिजालले अब दाङका अन्य किसानलाई पनि सोही जातका बीउ वितरण गर्ने योजना बनाइरहनुभएको छ। उहाँका अनुसार यो जातको लौका उत्पादन र गुणस्तर दुवै दृष्टिले उत्कृष्ट देखिएको छ।

रिजालको बारीमा फलेका लामालामा लौका हेर्न स्थानीय बासिन्दा र सर्वसाधारणको भीड लाग्ने गरेको छ। धेरैले यो खेतीलाई नमूना उत्पादनको रूपमा हेरेका छन् र यस्ता उन्नत जातका तरकारीले स्थानीय कृषिमा नयाँ सम्भावना देखाएको टिप्पणी गरेका छन्।