News Desk
काठमाडौं उपत्यकाको सबैभन्दा भीड हुने क्षेत्र मानिने कोटेश्वरमा फ्लाइओभर र अन्डरपास निर्माण गरिने भएको छ। दैनिक सवारी थिचोमिचो, लामो जाम र यात्रु तथा चालकले भोग्दै आएको सास्ति अन्त्य गर्ने उद्देश्यसहित सरकारले यो खण्डलाई दीर्घकालीन समाधानतर्फ लैजाने तयारी गरेको हो। तर, आवश्यक प्रक्रिया, डिजाइन, ठेक्का तथा निर्माण चरण पूरा गर्न कम्तिमा ६ वर्ष लाग्ने अनुमान गरिएको छ। सडक विभागका अनुसार कोटेश्वर हुँदै दैनिक झण्डै १ लाख ४२ हजार सवारी साधन गुड्छन् र काठमाडौँ–भक्तपुर मार्गमा मात्र प्रतिघन्टा १५ हजार गाडी चल्ने गर्छन्। जडिबुटीदेखि तीनकुनेसम्मको १.८ किलोमिटर दूरी पार गर्न व्यस्त समयमा २०–२५ मिनेट लाग्ने हुँदा यो खण्ड उपत्यकाको सबैभन्दा बढी तनावयुक्त ट्राफिक जोन भएको पुष्टि अध्ययनले गरेको छ।
जाम समस्याको समाधानका लागि सरकारले तीनकुनेदेखि जडिबुटीसम्मको करिब दुई किलोमिटर क्षेत्रमा दुईवटा फ्लाइओभर र एक अन्डरपास निर्माण गर्ने योजना अघि बढाएको छ। यसका लागि नेपाल सरकारले जापानसँग ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण सम्झौता गरिसकेको छ। जाइकामार्फत उपलब्ध हुने यो ऋण ०.२ प्रतिशत ब्याजदर, १० वर्षको ग्रेस अवधि र ३० वर्षको भुक्तानी अवधिसहित हुनेछ। परियोजनाको कार्यान्वयन सडक विभागले गर्नेछ। संरचना अन्तर्गत तीनकुने पुलदेखि विमानस्थलको पश्चिम–दक्षिण कुनामा रहेको मुनिभैरव मन्दिरसम्म ६६४ मिटरको फ्लाइओभर, त्यसपछि मुनिभैरव मन्दिरदेखि पेप्सिकोलासम्म ६१० मिटरको कट–एन्ड–कभर मोडेलको सुरूङमार्ग र पेप्सिकोलादेखि मनोहरा पुलसम्म २३८ मिटरको फ्लाइओभर निर्माण गरिनेछ।
हालसम्म परियोजनाको पूर्व–सम्भाव्यता अध्ययन मात्र सम्पन्न भएको छ, जसले संरचना निर्माण प्राविधिक रूपमा सम्भव हुने र यातायात व्यवस्थापनमा ठोस सुधार देखिने निष्कर्ष निकालेको छ। अब डिजाइनका लागि परामर्शदाता छनोट हुने, त्यसपछि दुई वर्षभित्र ठेक्का प्रक्रिया अघि बढाइने र त्यतिबेलादेखि निर्माण कार्य थालिने सरकारले जनाएको छ। तर यातायात विज्ञहरूले संरचना निर्माणले मात्र दीर्घकालीन समाधान नआउने चेतावनी दिएका छन्। उनीहरूको तर्क छ कि सार्वजनिक यातायातको सुधार, निजी सवारीको नियन्त्रण, पार्किङ व्यवस्थापन र वैकल्पिक सडक विस्तारजस्ता उपाय सँगै अघि नबढाइए जाम एक स्थानबाट हटेर अर्को स्थानमा मात्र सारिने खतरा रहन्छ।
ग्वार्को फ्लाइओभर सञ्चालनमा आएपछि ग्वार्कोको जाम सातदोबाटो र कोटेश्वरतिर सारिएको उदाहरण यसैको संकेत भएको उनीहरू बताउँछन्। यद्यपि, कोटेश्वरमा प्रस्तावित फ्लाइओभर र सुरूङमार्गले यात्रु तथा चालकले भोग्दै आएको दैनिक समस्या केही हदसम्म हटाउने अपेक्षा गरिएको छ। दीर्घकालीन प्रभाव भने सरकारको पूर्वाधार विकासको गति र सार्वजनिक यातायात सुधार गर्न सक्ने क्षमतामा निर्भर रहनेछ।