News Desk
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकलाई लक्षित गरी ‘फेक रेस्क्यू’मार्फत ठगी गर्दै आएको संगठित गिरोहलाई सार्वजनिक गरेको छ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले करिब साढे दुई महिनासम्म गरिएको अनुसन्धानपछि तीनवटा कम्पनीसँग आबद्ध ६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।
पक्राउ पर्नेमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल तथा प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सोही कम्पनीका सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन्।
अनुसन्धानका क्रममा उच्च हिमाली क्षेत्रमा देखिने सामान्य स्वास्थ्य समस्या—जस्तै टाउको दुख्ने वा थकान—लाई ‘एक्युट माउन्टेन सिकनेस’ भन्दै अतिरञ्जित प्रचार गरिने, त्यसकै आधारमा हेलिकप्टरमार्फत नक्कली उद्धार गराइने र फर्जी उपचार बिल तथा कागजात तयार पारेर अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट ठूलो रकम असुल्ने धन्दा सञ्चालन हुँदै आएको पुष्टि भएको छ।
सीआईबीका अनुसार गिरोहले एउटै उडानबाट धेरै बिमा दाबी गर्ने, चार्टर उडानलाई उद्धारका रूपमा देखाउने, निजी अस्पतालसँग मिलेर झूटा बिल बनाउने र बिचौलियामार्फत कमिसन बाँडफाँड गर्ने गरेको पाइएको छ।
अनुसन्धान विवरणअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले उद्धार गरेको भनिएका १,२४८ जनामध्ये १७१ जनाको उद्धार नक्कली रहेको खुलेको छ। सोही आधारमा कम्पनीले १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बराबरको बिमा दाबी गरेको पाइएको छ।
नेपाल चार्टर सर्भिस प्रालिले कुल ४७१ उद्धारमध्ये ७५ जनाको फेक रेस्क्यू गरेको देखिएको छ भने यसबाट करिब ८२ लाख अमेरिकी डलर बराबरको बिमा रकम दाबी गरिएको छ। त्यस्तै, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ उद्धारमध्ये ७१ जनाको उद्धार शंकास्पद रहेको देखिएको छ र यसमार्फत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरिएको छ।
यी नक्कली उद्धार घटनाबाट कुल ठगी रकम नेपाली रुपैयाँमा करिब २ अर्ब ९० करोडभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा हुने उद्धारमध्ये करिब ३५ प्रतिशत फेक भएको उल्लेख गरेका थिए। २०८२ असोजयता थप उजुरीहरू दर्ता भएपछि अनुसन्धानले गति लिएको हो। सन् २०१८ मा पनि यस्तै प्रकृतिको घोटालाबारे प्रतिवेदन आए पनि प्रभावकारी कारबाही हुन सकेको थिएन।
डा. केसीले राष्ट्रहित विपरीतको कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामाथि मुद्दा दायर गरिने बताउँदै यसमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र प्रमाण फेला परेपछि तत्काल कानुनी कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो।
सीआईबीले छुट्टै कार्यदल गठन गरी अनुसन्धान अघि बढाएको जनाएको छ भने पर्यटन मन्त्रालयले पनि यस विषयमा छानबिन समिति बनाइसकेको छ। घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्न सक्ने भन्दै प्रहरीले यसलाई उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।