News Desk
नेपाल र साउदी अरबबीच बहुप्रतीक्षित द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। करिब एक दशकभन्दा लामो प्रयासपछि साउदी अरबसँग श्रमिक भर्नासम्बन्धी श्रम समझदारीपत्रमा औपचारिक सहमति जुटेको हो। नेपालले २०७० सालदेखि साउदीसँग यस्तो श्रम सम्झौता गर्ने पहल गर्दै आएको थियो।
साउदीको राजधानी रियादमा सम्पन्न कार्यक्रममा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार दुवै देशबीच श्रमिक भर्ना प्रक्रियालाई व्यवस्थित र श्रमिकका हक–अधिकार सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन्।
यसअघि गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सरकार परिवर्तन भएपछि सम्झौता प्रक्रियामा केही समय ढिलाइ भएको थियो।