News Desk
काठमाडौँ |मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकाको सिमानामा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना विकास प्रक्रियाअन्तर्गत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन तयार गर्ने काम सुरु गरेको छ।
म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ। यो आयोजना नदी प्रवाही प्रकृतिको हुने जनाइएको छ, जसबाट वार्षिक रूपमा औसत १७३ दशमलव ४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत धारापानीमा रहेको २२० केभी क्षमताको मनाङ सबस्टेशनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गरिनेछ।
आयोजनाको कुल अनुमानित लागत तीन अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ। यसअनुसार प्रतिमेगावाट लागत करिब १३ करोड तीन लाख रुपैयाँ पर्नेछ।
वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावरणीय प्रभावबारे सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई आवश्यक सुझाव र प्रतिक्रिया दिन आग्रह गरेको छ।