News Desk
वीरगन्ज । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक ट्रान्सपोर्ट गोदाममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। घटना सोमबार बिहान भएको हो।
मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गर्दै आएको सबिता ट्रेडर्सको गोदाममा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीले छापा मारेको थियो। छापाका क्रममा भन्सार छली भित्र्याइएका साडी लगायतका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार गोदामबाट करिब १२ लाख ७२ हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो। सामान जफत गर्ने क्रममा गोदामसँग सम्बन्धित व्यक्तिहरूले प्रहरी टोलीमाथि आक्रमण गरेको आरोप लगाइएको छ।
आक्रमणमा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनापछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिँदै थप सुरक्षा व्यवस्था कडा बनाएको छ।
बरामद गरिएका कपडाहरू भन्सार कार्यालयको जिम्मामा लगाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।