रोक्का गरिएका धेरै आयोजनाको बजेट फुकुवा भइसकेको छ: अर्थमन्त्री खनाल
News Desk
Feb-12 तारिख 06:04 बिहान

काठमाडौं | अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठनपछि रोकिएका विभिन्न विकास आयोजनाका बजेट क्रमशः फुकुवा भइसकेको जानकारी दिएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री खनालका अनुसार तत्कालीन विशेष परिस्थितिका कारण कम प्राथमिकतामा परेका तथा साना टुक्रे आयोजनाको बजेट अस्थायी रूपमा रोक्का गरिएको थियो। अहिले भने प्राथमिकताका आधारमा धेरै आयोजनाको रकम खुला भइसकेको र ती आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिरहेका छन्।

उनले आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, अवरुद्ध सार्वजनिक सेवाको पुनः सञ्चालन तथा निर्वाचन व्यवस्थापनका लागि आवश्यक खर्च जुटाउनुपरेकाले केही समय आयोजनासम्बन्धी दायित्व सिर्जना भएर भुक्तानी गर्न नसकिएको स्पष्ट पारे।

अर्थमन्त्री खनालले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार आयोजनाहरूको पुनः प्राथमिकीकरण गरिएको बताए। तयारी नपुगेका, खरिद प्रक्रियामा नगएका तथा अर्थतन्त्रलाई प्रत्यक्ष लाभ नदिने आयोजनामा मितव्ययिता अपनाउँदै बजेट स्थगन गरिएको उनको भनाइ छ।

हाल डिजाइन सम्पन्न भई टेन्डर प्रक्रियामा पुगेका, टेन्डर भइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भएर काम सुरु हुने चरणमा रहेका महत्वपूर्ण आयोजनाहरूको बजेट भने फुकुवा गरिएको अर्थमन्त्री खनालले जानकारी दिएका छन्।

धेरै पढिएको