चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा ३७ लाखभन्दा बढी भेटी सङ्कलन, गत वर्षभन्दा कमी
News Desk
Apr-01 तारिख 07:05 बिहान

चैतेदसैँ पर्वको अवसरमा बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा यस वर्ष ३७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। नवरात्र अवधिभर जम्मा रु ३७ लाख २५ हजार ५५५ संकलन भएको कालिका गुठी व्यवस्थापन समितिले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब पाँच लाख रुपैयाँले कमी आएको देखिएको छ, अघिल्लो वर्ष सोही अवधिमा ४२ लाख रुपैयाँ भेटी उठेको थियो।

गण्डकी प्रदेशकै प्रमुख शक्तिपीठमध्ये एक मानिने यस ऐतिहासिक मन्दिरमा चैतेदसैँका बेला सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार नवरात्रको पहिलो दिनदेखि नै भेटी संकलन क्रमशः बढ्दै गएको थियो। चैत ५ गते एक लाख १७ हजारबाट सुरु भएको भेटी संकलन चैत १० गतेसम्म आइपुग्दा चार लाख ९२ हजार पुगेको थियो।

चैत ११ गते तीन लाख रुपैयाँ सङ्कलन हुँदा मुख्य दिन अर्थात् चैत १२ गते सबैभन्दा बढी १० लाख ४४ हजार रुपैयाँ भेटी संकलन भएको थियो। त्यसपछि नवमीका दिन चार लाख ८० हजार र दशमीका दिन तीन लाख ५५ हजार ७३५ रुपैयाँ भेटी उठेको तथ्यांक सार्वजनिक गरिएको छ।

अध्यक्ष खड्काका अनुसार मुख्य दिनमा भक्तजनको अत्यधिक भीडका कारण व्यवस्थापनमा चुनौतीसमेत देखिएको थियो। अष्टमीका दिन मात्रै चार लाखभन्दा बढी श्रद्धालु मन्दिर पुगेका थिए, जसका कारण ट्राफिक व्यवस्थापनसमेत कठिन भएको उहाँले उल्लेख गर्नुभयो। यस वर्ष वर्षाका कारण केही भक्तजनको संख्या घटेकाले भेटीमा पनि कमी आएको अनुमान गरिएको छ।

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ विशेष महत्वका साथ मनाइन्छन्। साथै शनिबार र मङ्गलबार पनि विशेष पूजा हुने गर्दछ। मन्दिरको आम्दानी भेटीसँगै अक्षता, पशुबलि (बोका तथा कुखुरा), परेवा उडाउने शुल्क, विवाह तथा व्रतबन्धका सेवा शुल्क र पण्डितद्वारा बुझाइने दस्तुरबाट हुने गरेको छ।

इतिहास अनुसार विसं १५९१ मा पर्वतका राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा राजकुमारीले दाइजोको रूपमा कालिका देवीको मूर्ति ल्याएकी थिइन्। सोही मूर्ति हालको मन्दिर परिसरमा स्थापना गरिएपछि यस स्थानले धार्मिक महत्त्व प्राप्त गरेको विश्वास गरिन्छ।