"निजी क्षेत्रलाई आर्थिक कूटनीतिको केन्द्रमा राख्ने नीति नेपालले लिनुपर्छ" : अध्यक्ष अग्रवाल
News Desk
Apr-04 तारिख 11:44 बिहान

काठमाडौँ । कर्पोरेट  नेपालको आयोजनामा सम्पन्न “Bridge State vs. Buffer State: Economic Diplomacy and Nepali Industries” विषयक बहस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ‘बफर स्टेट’बाट ‘ब्रिज स्टेट’मा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

कार्यक्रम प्रमुख वक्ताका रूपमा बोल्नुहुँदै अध्यक्ष अग्रवालले नेपाल भारत  र चीन जस्ता दुई ठूला आर्थिक शक्तिबीच अवस्थित विशेष भू-राजनीतिक राष्ट्र भएको उल्लेख गर्नुभयो। विगतमा नेपाललाई सन्तुलन कायम गर्ने ‘बफर स्टेट’को रूपमा हेरिए पनि अहिलेको विश्व परिवेशले नेपाललाई आर्थिक, व्यापारिक तथा सांस्कृतिक ‘ब्रिज’ बन्ने अवसर दिएको उहाँको भनाइ थियो।

उहाँले बदलिँदो ग्लोबल अर्थतन्त्र कनेक्टिभिटी, एकीकरण र साझेदारीमा आधारित रहेको बताउँदै नेपालले आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्न सके दक्षिण एशियामा महत्वपूर्ण ट्रान्जिट हब बन्न सक्ने धारणा राख्नुभयो।

‘बिगतमा नेपाल दुई देश बीचको राजनीतिक सम्बन्ध सन्तुलन कायम प्रयोग गरिने भौगोलिक क्षेत्र मात्रै थियो । विभिन्न कारणले नेपाल पछाडि परेको थियो । तर, आजको आर्थिक परिवेशले नयाँ अवसर दिएको छ । नेपाल भारत र चीनको आर्थिक पुल बन्ने सक्ने देखिएको । नेपाल आर्थिक, व्यापारिक र सांस्कृतिक रुपमा सेतु हुन सक्छ,’ उहाले भन्नुभयो, ‘यो रुपान्तरण गर्न सकियो भने नेपाल दक्षिण एसियाकै ट्रान्जीट हव बन्न सक्छ ।’
यसका लागि धेरै क्षेत्रमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पहिला त सडक, रेल, ड्राइपोर्ट, डिजिटल कनेक्टिभिटी जस्ता पूर्वाधारमा लगानी बढाउनुपर्छ । औद्योगिक क्षेत्रलाई पर्याप्त मात्रामा विद्युतको उपलब्ध हुनुपर्छ । भन्सारमा सहजीकरण गर्नुपर्छ । भन्सार सेवालाई डिजीटलाइज गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई आर्थिक कुटनीतिकको केन्द्रविन्दुमा राख्नुपर्छ । निजी क्षेत्रलाई शशक्तिकरण गर्नुपर्छ ।’ यसैगरी क्षेत्रीय मुलुकका मूल्य श्रृंखलामा पनि नेपाल जोडिनुपर्ने उनले बताए । 
यस्तै, अब सरकारले अर्थ नीतिमा स्थिरता दिनुपर्ने बताउनुभयो । ‘हामीले राजनीतिक स्थायित्व खोजेका थियौं । अहिलेको चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइ मत प्राप्त भएको छ । यसले राजनीतिक स्थायित्वको संकेत गरेको छ,’ उहाले भन्नुभयो, ‘अब अर्थ नीतिमा पनि स्थायित्व आउनुपर्छ । यसमा हामी आशावादी छौं ।’

उहाँले नेपाली उद्योगहरूले केवल उत्पादनमा सीमित नभई क्षेत्रीय भ्यालु चेनमा जोडिनुपर्ने, निर्यात विविधीकरण, नवप्रवर्तन र गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

राजनीतिक स्थायित्वले आर्थिक स्थायित्व ल्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष अग्रवालले विशेष आर्थिक क्षेत्र (SEZ) लाई प्रभावकारी रूपमा सञ्चालन गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।

“ब्रिज स्टेट बन्नु केवल आर्थिक रणनीति मात्र होइन, यो नेपालको भविष्यको मार्गचित्र हो,” उहाँले भन्नुभयो, “यसले रोजगारी सिर्जना गर्छ, उद्योगलाई सशक्त बनाउँछ र अर्थतन्त्रलाई दिगो बनाउँछ।”

अन्त्यमा अध्यक्ष अग्रवालले साहसिक आर्थिक कूटनीति, संरचनात्मक सुधार र सार्वजनिक-निजी सहकार्यलाई प्राथमिकता दिए नेपाल एशियाकै सशक्त ‘ब्रिज स्टेट’का रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम शुक्रवार वानेश्वर स्थिति एभरेष्ट होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा आर्थिक कूटनीति, पूर्वाधार विकास, निजी क्षेत्रको भूमिका तथा क्षेत्रीय सहकार्यका विषयमा  विभिन्न विज्ञहरूले धारणा राखेका थिए।

धेरै पढिएको