बैरो संघमा पूर्व अध्यक्षको हस्तक्षेपपछि ‘टर्निङ प्वाइन्ट’,
News Desk
May-04 तारिख 06:41 बिहान • आज

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको आन्तरिक विवाद अन्ततः पूर्व अध्यक्षहरूको सक्रिय हस्तक्षेपपछि सहमतिमा टुंगिने चरणमा पुगेको छ। आइतबार सम्पन्न पुर्व अध्यक्ष,पदाधिकारी  र सल्लाहकार सहितको संयुक्त बैठकले राजीनामा दिएका ९ पदाधिकारीको राजीनामा औपचारिक रूपमा अस्वीकृत गर्दै सबैलाई तत्काल जिम्मेवारीमा फर्किन निर्देशन दिएको छ।

अध्यक्ष भुवन सिंह गुरुङसहित कार्यसमितिका १२ बहुमत पदाधिकारीको समर्थनमा लिइएको यस निर्णयलाई संघभित्रको एकता पुनर्स्थापनाको निर्णायक कदमका रूपमा हेरिएको छ। अध्यक्ष तथा बहुमत कार्यसमितिले सम्बन्धित पदाधिकारीहरूलाई औपचारिक पत्र लेखिसकेको छ । उनिहरुलाई “राजीनामा अस्वीकृत भइसकेकाले तत्काल कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न” स्पष्ट निर्देशन दिएका छन ।

राजीनामा अस्वीकृत गरिएका पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, भरत सापकोटा, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन्।

यससँगै संघले सल्लाहकारमाथि गरिएको कारवाही फिर्ता गर्दै   सल्लाहकारमा नवराज केसी र धनलाल जैशीलाई नियुक्त गरिएको छ । जसलाई संघभित्र सन्तुलन र समन्वय मजबुत बनाउने प्रयासका रूपमा लिइएको छ।
तर, यस सहमतिका केन्द्रमा भने पूर्व अध्यक्षहरूको निर्णायक भूमिका देखिएको छ। पूर्व अध्यक्ष प्रेम कटुवाल र रोहन गुरुङले बैठकमा दिएको स्पष्ट र कडा सन्देशपछि नै संघ एकताको दिशामा फर्किएको स्रोतको दाबी छ। बैठकले औपचारिक रूपमा संघभित्र एकता कायम गराउने जिम्मेवारी समेत पूर्व अध्यक्षहरूलाई नै सुम्पिएको छ।

पूर्व अध्यक्ष प्रेम कटुवालले वर्तमान अवस्थालाई गम्भीर रूपमा चित्रण गर्दै संघ विभाजनतर्फ जानु व्यवसायीक हितविरुद्ध हुने चेतावनी दिए। “अहिलेको आवश्यकता पदको लडाइँ होइन, व्यवसायीको अस्तित्व जोगाउने हो,” उनले भने, “संघ नै हाम्रो साझा मञ्च हो, यसलाई कमजोर बनाउने छुट कसैलाई छैन।” उनले व्यवसायीहरूलाई एक ढिक्का भएर सरकारसँग नीतिगत सुधार, सेवा शुल्क तथा वैदेशिक रोजगार क्षेत्रका मुद्दामा सशक्त रूपमा प्रस्तुत हुन आग्रह गरे।

त्यस्तै, पूर्व अध्यक्ष रोहन गुरुङले पनि एकताको विकल्प नरहेको स्पष्ट पार्दै आन्तरिक विवादलाई यहीँ अन्त्य गर्नुपर्नेमा जोड दिए। “हामी फुट्यौं भने राज्यसँग हाम्रो आवाज कमजोर हुन्छ,” उनले भने, “अब सबै पक्ष एक ठाउँमा उभिएर व्यवसायिक हकहितका लागि अघि बढ्नुपर्छ।”
संघ स्रोतका अनुसार, अहिलेको अवस्थाबारे मेनपावर व्यवसायीहरूको साझा धारणा पनि स्पष्ट छ—“एकता नै बल हो, संघ एक हुनुको विकल्प छैन।” लामो समयदेखि देखिएको आन्तरिक खिचातानीले व्यवसायमा नकारात्मक असर पारेको भन्दै अधिकांश व्यवसायीहरूले अब विवाद अन्त्य गरी एकढिक्का भएर अघि बढ्नुपर्ने दबाब दिएका छन्।
संयुक्त बैठकले पुरानै कार्यसमितिलाई यथावत राख्दै संस्थागत निरन्तरता कायम गर्ने निर्णय पनि गरेको छ। यसले नेतृत्वमा स्थायित्व ल्याउनुका साथै आगामी दिनमा निर्णय प्रक्रिया अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अध्यक्ष गुरुङले स्पष्ट सन्देश दिँदै भने, “यो जुध्ने समय होइन, एकताबद्ध भएर अघि बढ्ने समय हो।” उनले अब सबै विवाद अन्त्य गर्दै व्यवसायिक हित, श्रमिकको विश्वास र संस्थाको गरिमा जोगाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। साथै, आवश्यक परे थप कडा निर्णय लिन तयार रहेको संकेतसमेत गरेका छन्।
पछिल्लो सहमतिसँगै संघभित्रको तनावपूर्ण अवस्था क्रमशः अन्त्यतर्फ उन्मुख भएको छ। लामो समयदेखि देखिएको अन्योल र खिचातानी अन्त्य हुने संकेत देखिएपछि व्यवसायीहरूबीच सकारात्मक सन्देश प्रवाह भएको छ।
अब विवादलाई थप नबढाई व्यवसायिक एकतामा एक ढिक्का भएर संघलाई अगाडि बढाउनुको विकल्प नरहेको निष्कर्ष निकालिएको छ। पूर्व अध्यक्षहरूको अगुवाइमा संघलाई पुनः सुदृढ बनाउँदै वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान, नीतिगत सुधार र व्यवसायी हितका मुद्दामा केन्द्रित हुने विश्वास गरिएको छ।

आइतबार संघ कार्यालयमा बसेको बैठकमा पुर्व अध्यक्ष प्रेम बहादुर कटुवाल,रोहन गुरुङ,सल्लाहकार हरि बहादुर पान्डे,अध्यक्ष भुवन सिंह गुरुङ, द्वितीय उपाध्यक्ष देवकुमार खोकाली तथा सदस्यहरू कृष्ण ढकाल, राजकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, सुमनराज पाण्डे, विधा लक्ष्मी बज्राचार्य, महम्मद जवार्दिन मिया, तिलकबहादुर तामाङ, रविन मेगाली मगर र सविता कुमारी विष्टसहित १२ सदस्यसहितको उपस्थिति रहेको थियो ।

धेरै पढिएको