बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
News Desk
May-12 तारिख 07:36 बेलुका

 

काठमाडौं, वैशाख २९ । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिवास उद्योग वाणिज्य संघले गरेको बजार बन्दको निर्णयप्रति असहमति जनाउँदै व्यवसायीहरूलाई आफ्नो व्यापार-व्यवसाय नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

मंगलवार जारी विज्ञप्तिमार्फत चेम्बरले बर्दिवास नगरपालिका क्षेत्रमा प्रत्येक महिनाको दोस्रो तथा अन्तिम मंगलवार बजार बन्द गर्ने निर्णय स्वीकार्य नभएको जनाएको हो । चेम्बरको कार्यसमिति बैठकले उक्त निर्णयले व्यवसायिक स्वतन्त्रतामाथि असर पार्ने निष्कर्ष निकालेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई पेशा, रोजगार, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको धारा १७ अनुसार कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई कुनै संस्था वा समूहले दबाब, धम्की वा जबरजस्ती बन्द गराउन नमिल्ने स्पष्ट व्यवस्था रहेको जनाएको छ ।

चेम्बरका अनुसार बजार बन्द गराउने वा व्यापारिक गतिविधिमा अवरोध सिर्जना गर्ने अधिकार नेपाल सरकार तथा सम्बन्धित प्रशासनिक निकायलाई मात्रै कानुनतः प्राप्त छ । त्यसबाहेक अन्य कुनै संघ–संस्थाले एकपक्षीय रूपमा बजार बन्दको निर्णय लागू गर्न नसक्ने बताइएको छ ।

महोत्तरी चेम्बर अफ कमर्सका महासचिव जसपाल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला स्तरको आधिकारिक व्यावसायिक संस्थासँग समन्वय तथा सहकार्य नगरी गरिने यस्ता निर्णयले व्यवसायिक वातावरण प्रभावित हुने उल्लेख गरिएको छ । आगामी दिनमा व्यवसायिक क्षेत्रसँग सम्बन्धित कार्यक्रम, निर्णय वा गतिविधि सञ्चालन गर्दा आवश्यक सहकार्यपछि मात्र कार्यान्वयन गर्न आग्रह गरिएको छ ।सम्पूर्ण व्यवसायी, व्यापारी तथा उद्योगीलाई बजार बन्दको भ्रममा नपरी आफ्नो व्यवसाय नियमित सञ्चालन गर्न अपिल गरिएको महोत्तरी चेम्बरका अध्यक्ष सुधिर अग्रवालले जानकारी दिएका छन् ।

यसैबीच, दाङ्ग चेम्बर अफ कमर्सले घोराही क्षेत्रमा उद्योग वाणिज्य संघको सिण्डिकेट तोड्न सफल भएको जनाएको छ । 

 दाङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष कुसुम गोयलले व्यवसायिक स्वतन्त्रता र खुला बजार व्यवस्थाको पक्षमा चेम्बर सक्रिय रहेको जानकारी दिदै  सिण्डिकेट तोड्न सफल भएको जानकारी दिएका छन् ।