प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
News Desk
May-15 तारिख 05:36 बिहान • आज

काठमाडौं : प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको थियो । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले थप स्पष्टीकरणका लागि समय उपलब्ध गराउनुभएको भए पनि कुनै सांसदले त्यसको उपयोग गरेनन् ।

विपक्षी दलका सांसदहरूले भने नीति तथा कार्यक्रममाथिको जवाफ प्रधानमन्त्री शाह स्वयंले दिनुपर्ने माग गर्दै बैठकमा विरोध जनाएका थिए । विरोधकै क्रममा केही विपक्षी सांसद बैठकबाट बाहिरिएका पनि थिए ।

यसअघि विपक्षी दलका सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू फिर्ता लिन सभामुख अर्यालले आग्रह गर्नुभएको थियो । तर विपक्षी सदस्यहरू विरोधमै उभिएपछि संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

निर्णय प्रक्रियामा बहुमतले सबै संशोधन प्रस्ताव अस्वीकृत भएको सभामुख अर्यालले घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि विपक्षी दलका ३५ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

उल्लेखनीय छ, यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति Ram Chandra Paudel ले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।