कैलाश-मानसरोवर दर्शनका लागि सिमकोटमा तीर्थयात्रीको चहलपहल बढ्दो
News Desk
May-17 तारिख 07:16 बिहान • आज

हुम्ला । वर्षायाम सुरु भएसँगै कैलाश–मानसरोवर दर्शनका लागि नेपाल हुँदै जाने भारतीय धार्मिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै चीनको कैलाश–मानसरोवर क्षेत्रतर्फ जाने तीर्थयात्रीहरूको आगमन पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको हो ।

नेपालगन्जबाट हवाईमार्ग हुँदै हुम्लाको सिमकोट पुगेका तीर्थयात्रीहरू हिल्सा नाका पार गरेर चीन प्रवेश गर्ने गरेका छन् । सिजन सुरु भएको चार दिनमै १६९ जना तीर्थयात्री सिमकोट आइपुगेको सिमकोट विमानस्थलले जनाएको छ ।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंह का अनुसार वैशाख ३० गतेदेखि तीर्थयात्री आउन सुरु गरेका हुन् । हालसम्म आएका यात्रुहरूमध्ये १४७ जना भारतीय नागरिक रहेका छन् भने २२ जना अन्य मुलुकका पर्यटक रहेका छन् ।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरले तीन उडान सञ्चालन गरेको थियो । ती उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुगेका थिए । तीमध्ये २३ जना भारतीय तीर्थयात्री आवश्यक परमिट नआएका कारण सिमकोटमै रोकिएका छन् ।

गत चैत २१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रिया ढिलो भएको जनाइएको छ । सोही कारण केही यात्रुहरूलाई सिमकोटमै बस्नुपर्ने अवस्था आएको हो ।

चार दिनको अवधिमै तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले यस वर्ष कैलाश–मानसरोवर यात्रा गर्ने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

विसं २०७२ को भूकम्पपछि भारतीय पर्यटकहरूले हिल्सा नाका प्रयोग गर्दै कैलाश–मानसरोवर यात्रा गर्न थालेका थिए । कोरोना महामारीका बेला नाका बन्द भएपछि यात्रा प्रभावित बनेको थियो । तर गत वर्षदेखि चीन सरकारले भारतीय तीर्थयात्रीलाई पुनः हिल्सा नाका हुँदै यात्रा गर्न अनुमति दिएपछि पर्यटक आगमन फेरि बढ्न थालेको हो ।

गत वर्ष मात्रै चार महिनाको अवधिमा करिब ६ हजार ५०० भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै कैलाश–मानसरोवर यात्रा गरेको तथ्यांक छ । यस वर्षको पहिलो टोली वैशाख ३० गते सिमकोट आइपुगेको थियो ।

धेरै पढिएको