News Desk
प्रधानमन्त्री शाहले शनिबार दिउँसो डिडीसीको याक चिजसहितको तस्वीर फेसबुकमा पोस्ट गर्दै “से चिज, डिडिसीको चिज अर्थात् चिज भन्नुस्” भन्ने सन्देश सार्वजनिक गर्नुभएको थियो । उक्त पोस्ट भाइरल बनेपछि उपभोक्ताको आकर्षण एकाएक बढेको डिडीसीले जनाएको छ ।
डिडीसीका शाखा अधिकृत तथा काठमाडौं बजार व्यवस्थापन शाखा प्रमुख चूडामणि आचार्यका अनुसार पोस्ट सार्वजनिक भएपछि बिक्री केन्द्रहरूमा उपभोक्ताको चहलपहल बढेको छ । देशभरका बिक्री केन्द्रबाट विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अवस्था उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
डिडीसीले रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलाम र पाँचथरलगायत हिमाली तथा पहाडी जिल्लाबाट चौँरीको दूध संकलन गरी याक चिज उत्पादन गर्दै आएको छ । संस्थानले सञ्चालन गरिरहेका १४ वटा चिज उत्पादन केन्द्रमध्ये ८ केन्द्रबाट याक चिज उत्पादन हुने गरेको छ । वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन हुँदै आएको तथ्यांक डिडीसीसँग रहेको छ ।
शनिबार र आइतबार याक चिजसँगै डिडीसीका अन्य दुग्धजन्य उत्पादनको बिक्री तथा मागमा पनि वृद्धि भएको संस्थानले जनाएको छ । विस्तृत बिक्री विवरण सोमबारसम्म प्राप्त हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । आइतबार साँझसम्म उक्त पोस्टमा ४ लाख ६६ हजारभन्दा बढी लाइक, ४६ हजारभन्दा बढी प्रतिक्रिया तथा ४ हजारभन्दा बढी शेयर प्राप्त भएको जनाइएको छ । “डिडीसी नेपाल सरकारको संस्था हो” भन्ने सन्देशसमेत पोस्टमा समावेश गरिएको थियो, जसले सरकारी उत्पादनप्रति जनचासो बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट तयार गरिने याक चिज गुणस्तरीय तथा पौष्टिक मानिन्छ । प्रधानमन्त्रीस्तरबाट भएको प्रचारप्रसारले बजार माग बढे पनि हाल उत्पादन तथा आपूर्तिमा कुनै समस्या नरहेको डिडीसीले स्पष्ट पारेको छ ।