समस्याग्रस्त सहकारीका बचतकर्ता राहतमा : ३७८ जनाले पाए बचत फिर्ता
News Desk
May-19 तारिख 06:12 बिहान • आज

 

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज पहिलो चरणमा तीन वटा सहकारी संस्थाका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारी का २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारी का १५६ जना तथा पशुपति सहकारी का सात जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल को सचिवालयका अनुसार पहिलो चरणमा न्यून रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकता दिइएको हो । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः सबै बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ ।

समस्याग्रस्त सहकारीमा हाल करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको बताइएको छ ।

समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरुलाई साना बचतकर्ता र सोभन्दा बढी रकम बचत गर्नेहरुलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको छ । तथ्यांकअनुसार कुल बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन् ।