News Desk
काठमाडौं, ०६ जेठ । नेपाल महिला चेम्बरद्वारा महिला उद्यमशीलता बारेमा आयोजित छलफलमा सहभागी महिला उद्यमिहरुले उद्यमशीलता विकास माथि जोड दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको पूर्वसन्ध्यामा आयोजित उक्त छलफल कार्यक्रममा सहभागी महिला उद्यमीहरूले महिला उद्यमशीलताको प्रवर्द्धन, क्षमता विकास तथा व्यवसाय विस्तारका लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखेका हुन् ।
कार्यक्रममा सहभागीहरूले महिला उद्यमशीलतासम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्स बीच समन्वय र सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा महिला उद्यमशीलता प्रवर्द्धनका लागि विशेष प्याकेज समावेश गर्न सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो । उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणले समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक दिशा दिने उल्लेख गर्दै भन्नुभयो, “महिला उद्यमीहरूको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई प्रोत्साहन गर्न सकियो भने देशको आर्थिक विकासले थप गति लिन्छ । त्यसैले महिला उद्यमशीलताको प्रवर्द्धन अब विकल्प होइन, आवश्यकता हो ।”
त्यसैगरी नेपाल महिला चेम्बरकि अध्यक्ष एवम् नेपाल चेम्बर अफ कमर्सकि उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरूले भोगिरहेका समस्या समाधान तथा प्रवर्द्धनात्मक कार्यक्रममार्फत महिलाहरूलाई थप प्रेरित गर्न नेपाल महिला चेम्बरले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिला उद्यमीहरूको पहुँच वित्तीय स्रोत, बजार तथा तालिमसम्म सहज बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न महिला उद्यमी, साझेदार सहयोगी तथा स्वयंसेवीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, उपाध्यक्षहरु दिपक श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सुरेन्द्रकुमार श्रेष्ठ, अर्जुन प्रसाद शर्मा र नेपाल महिला चेम्बरकि उपाध्यक्ष स्वरुपा श्रेष्ठ एवं सचिव ईरा प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।
