News Desk
काठमाडौँ, जेठ १५ l सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा तथा विभिन्न सरकारी निकायका कर्मचारीहरूको तलबमा करिब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कर्मचारीहरूको आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि गरिएको तथा कार्यसम्पादनमा आधारित १० प्रतिशत मासिक प्रोत्साहन भत्ता थप व्यवस्था गरिएको जानकारी दिनुभयो। हाल कायम रहेको महँगी भत्ता भने यथावत् राखिएको छ।
सरकारका अनुसार पछिल्ला चार वर्षदेखि कर्मचारीहरूको तलब पुनरावलोकन नभएको र यस अवधिमा बजारमा मुद्रास्फीति उल्लेख्य रूपमा बढेकाले कर्मचारीको मनोबल उच्च बनाउने तथा जीवनयापन सहज बनाउने उद्देश्यले तलब वृद्धि गरिएको हो।
नयाँ व्यवस्थापछि तल्लो तहका कर्मचारीको मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँभन्दा माथि पुग्ने तथा उच्च तहका कर्मचारीको पारिश्रमिक एक लाख रुपैयाँभन्दा बढी हुने सरकारको दाबी छ। यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रस्तावित तलब संरचनाअनुसार मुख्य सचिवको कुल मासिक तलब करिब १ लाख ८ हजार रुपैयाँ, सचिवको १ लाख १ हजार रुपैयाँभन्दा बढी तथा सहसचिव, उपसचिव र अधिकृत तहका कर्मचारीहरूको पारिश्रमिकमा पनि उल्लेख्य वृद्धि हुने देखिएको छ।
सरकारले कर्मचारीको पारिश्रमिक वृद्धिसँगै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नतिजामुखी बनाउने अपेक्षा गरेको जनाएको छ। बजेटमा कर्मचारीको सेवा सुविधासँगै आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको प्रोत्साहन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य पनि लिइएको छ।