मेनपावर व्यवसायीको हकहितका लागि सदैव तयार : अध्यक्ष गुरुङ
News Desk
May-30 तारिख 08:43 बेलुका • आज


काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित, सम्मान र व्यवसायिक अस्तित्वको रक्षाका लागि आवश्यक परे जुनसुकै वैधानिक र संस्थागत कदम चाल्न आफू तयार रहेको बताएका छन्।

संघद्वारा जारी विस्तृत विज्ञप्तिमार्फत अध्यक्ष गुरुङले पछिल्लो समय संघको वैधानिक नेतृत्वविरुद्ध नियोजित रूपमा फैलाइँदै आएका भ्रम, अफवाह र दुष्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै व्यवसायीहरूलाई यस्ता गतिविधिबाट प्रभावित नहुन आग्रह गरेका छन्।

उनले केही स्वार्थप्रेरित समूह, व्यवसायीविरोधी प्रवृत्ति तथा पराजित मानसिकता बोकेका व्यक्तिहरूले सामाजिक सञ्जाल र अनधिकृत माध्यम प्रयोग गरी संघभित्र कृत्रिम विवाद सिर्जना गर्न, व्यवसायीहरूलाई अन्योलमा पार्न तथा वैधानिक नेतृत्वमाथि प्रश्न उठाउन खोजेको आरोप लगाएका छन्। गुरुङका अनुसार यस्ता गतिविधि कुनै व्यक्तिविशेषविरुद्ध नभई सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी समुदाय, संस्थागत प्रणाली र व्यवसायिक एकतामाथिको सुनियोजित प्रहार हो।

अध्यक्ष गुरुङले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनलाई तोडमोड गरेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार प्रशासनले वर्तमान कार्यसमिति तथा आफ्नो नेतृत्वलाई नै विधान, कानुन र संस्थागत प्रक्रियाअनुसार संघ सञ्चालन गर्न निर्देशन दिएको स्पष्ट तथ्य हुँदाहुँदै त्यसको विपरीत भ्रम सिर्जना गर्नु नियोजित दुष्प्रचार हो।

“सम्पूर्ण व्यवसायीहरूको मतबाट निर्वाचित नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्नु भनेको हजारौं व्यवसायीहरूको जनादेशमाथिको प्रहार हो,” गुरुङले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले अहिले वैदेशिक रोजगार क्षेत्र नीतिगत अन्योल, प्रशासनिक दबाब, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, आर्थिक चुनौती तथा श्रम बजारमा देखिएका नयाँ परिस्थितिसँग संघर्ष गरिरहेको उल्लेख गर्दै यस्तो बेला व्यवसायीहरूबीच विभाजन होइन, बलियो एकता आवश्यक रहेको बताएका छन्।

विशेषगरी व्यवसायीहरूको साझा समस्याको समाधानका लागि संघले सरकारसँग निरन्तर संवाद गरिरहेको जनाउँदै गुरुङले आगामी जेठ १९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग हुने महत्वपूर्ण वार्तालाई निर्णायक रूपमा हेरिएको बताए। उनका अनुसार मन्त्रालयले उक्त वार्ताका लागि अध्यक्ष गुरुङसहित वर्तमान कार्यसमितिलाई औपचारिक रूपमा पत्राचार गरिसकेको छ, जसले सरकारसँगको आधिकारिक प्रतिनिधित्व वर्तमान नेतृत्वमार्फत भइरहेको पुष्टि गर्छ।

संघले मन्त्रालयसँग “फ्री भिसा, फ्री टिकट” नीतिको व्यवहारिक पुनरावलोकन, वास्तविक लागतअनुसार सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने, विभागीय दबाब न्यूनीकरण गर्ने तथा वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउने विषयमा स्पष्ट एजेन्डासहित छलफल गरिरहेको जनाएको छ।

गुरुङले व्यवसायीहरूको वास्तविक समस्या समाधानका लागि आफू नेतृत्वको कार्यसमिति कुनै पनि प्रकारको दबाब वा भ्रमको राजनीतिबाट विचलित नहुने स्पष्ट पारेका छन्। “हाम्रो पहिलो प्राथमिकता व्यवसायीहरूको हित हो। व्यवसायीको अस्तित्व, सम्मान र अधिकारको रक्षा गर्न आवश्यक पर्ने हरेक वैधानिक पहलका लागि हामी प्रतिबद्ध छौं,” उनको भनाइ छ।

संघले केही असन्तुष्ट सदस्यहरूले दिएको राजीनामासमेत संस्थागत एकताको भावनाअनुसार अस्वीकृत गरिसकेको जनाएको छ। गुरुङका अनुसार अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राख्नुपर्ने बेला हो।

उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कुनै व्यक्ति, गुट वा सीमित समूहको निजी सम्पत्ति नभई हजारौं व्यवसायीहरूको संघर्ष, योगदान र विश्वासबाट बनेको साझा संस्था भएको उल्लेख गर्दै यसको वैधानिकता, गरिमा र एकतामाथि प्रहार गर्ने कुनै पनि गतिविधिविरुद्ध संघ दृढतापूर्वक उभिने बताए।

अन्त्यमा अध्यक्ष गुरुङले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई अफवाह र भ्रमको पछि नलाग्न आग्रह गर्दै व्यवसायिक हकहित, संस्थागत स्थायित्व, व्यवसायीको सम्मान तथा वैदेशिक रोजगार क्षेत्रको भविष्य सुरक्षित गर्न एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन्।

“अहिलेको आवश्यकता विवाद होइन, व्यवसायीहरूको अस्तित्व जोगाउने साझा अभियान हो। संस्था बलियो भए मात्रै व्यवसायी बलियो हुन्छन्, र व्यवसायी बलियो भए मात्रै वैदेशिक रोजगार क्षेत्रको भविष्य सुरक्षित हुन्छ,” गुरुङको भनाइ छ।

धेरै पढिएको