बैरो संघमा प्रबन्ध समितिको नाममा भ्रम फैलाउने खेल बन्द गर्न सल्लाहकार पाण्डेको चुनौती
News Desk
May-31 तारिख 07:52 बेलुका • आज


काठमाडौं l नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्रीले संघको नाममा कथित ‘प्रबन्ध समिति’ गठन गरी भइरहेको गतिविधिप्रति कडा असहमति जनाउँदै यस्ता कार्य तत्काल बन्द गर्न चुनौती दिएका छन् । उनले संघभित्र भ्रम, अफवाह र अन्योल सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै व्यवसायीहरूलाई त्यस्ता गतिविधिको पछि नलाग्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएको पत्रमार्फत पाण्डेले आफू संघको बहालवाला तथा आधिकारिक सल्लाहकार रहेको अवस्थामा कुनै जानकारी, छलफल वा परामर्शबिनै प्रबन्ध समिति गठन गरिएको प्रचार गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

उनले संघको विधान, प्रक्रिया र संस्थागत अभ्यासलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले आफूखुसी प्रबन्ध समिति गठन गरिएको दाबी गर्नुका साथै निर्वाचन समितिसमेत गठन भएको भन्दै हल्ला फैलाएको आरोप लगाएका छन् । यस्ता गतिविधि विधि, विधान र कानुनी प्रक्रियाभन्दा बाहिर रहेको उनको भनाइ छ ।

पाण्डेले प्रमुख जिल्ला अधिकारी कार्यालय काठमाडौंबाट संघलाई पठाइएको पत्रलाई आधार बनाउँदै उक्त पत्रमा कतै पनि ‘प्रबन्ध समिति’को नाम उल्लेख नगरिएको बताएका छन् । बरु प्रशासनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई नै सम्बोधन गर्दै आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको भन्दै यसले संघको वैधानिक अस्तित्व र वर्तमान नेतृत्वलाई नै मान्यता दिएको स्पष्ट संकेत गरेको उनको दाबी छ ।

उनले वर्तमान अध्यक्ष भुवनसिंह गुरुङ नै संघका आधिकारिक तथा वैधानिक अध्यक्ष रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई भ्रमपूर्ण प्रचारको प्रभावमा नपर्न आग्रह गरेका छन् । “सिडियो कार्यालयको पत्रमा प्रबन्ध समितिको कुनै उल्लेख छैन । प्रशासनले संघलाई नै सम्बोधन गरेको छ । त्यसैले अध्यक्ष भुवनसिंह गुरुङकै नेतृत्व वैधानिक र आधिकारिक रहेको विषयमा कुनै भ्रम रहनु हुँदैन,” पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

सल्लाहकार पाण्डेले कथित प्रबन्ध समितिको नाममा भइरहेका गतिविधि रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन् । उनले संघमा विधिवत् दर्ता नभएका कागजात र प्रक्रियाका आधारमा समिति गठन गरिएको प्रचार गर्नु संस्थागत मर्यादा र सुशासनको सिद्धान्तविपरीत हुने बताएका छन् ।

उनका अनुसार हाल वैदेशिक रोजगार व्यवसाय क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा व्यवसायीहरूबीच विभाजन र विवाद सिर्जना गर्नुको सट्टा एकताबद्ध भएर व्यवसायको हित, श्रमिकको सुरक्षा र संस्थागत सुदृढीकरणमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको छ ।

“आज व्यवसाय गम्भीर अवस्थामा छ । व्यवसायीहरू फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने समय हो,” पाण्डेले भनेका छन् । उनले सीमित स्वार्थका लागि सिन्डिकेट मानसिकता बोकेका केही समूहसँग मिलेर व्यवसायीविरोधी गतिविधि गर्न खोजिए सम्पूर्ण व्यवसायी समुदाय एकजुट भएर त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

संघभित्र देखिएको पछिल्लो विवादलाई विधि, विधान र कानुनी प्रक्रियाअनुसार समाधान गर्नुपर्नेमा जोड दिँदै पाण्डेले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई संयमित, एकताबद्ध र संस्थाप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । साथै उनले संघको वैधानिक नेतृत्व, संस्थागत संरचना र व्यवसायीहरूको साझा हितमाथि आघात पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

धेरै पढिएको