News Desk
काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आईतवार सम्पन्न निर्वाचनमा महासचिव पदमा पहिलो पटक उम्मेदवारी दिएका हरि डाँगी अत्याधिक मतसहित विजयी भएपछि यतिबेला वैदेशिक रोजगार क्षेत्र, सामाजिक वृत्त तथा सांगीतिक क्षेत्रमा उनको चर्चा चुलिएको छ। व्यवसायीहरूले उनलाई केवल एक सफल व्यवसायीका रूपमा मात्र नभई अनुभवी सङ्गठक, समन्वयकारी नेतृत्वकर्ता र आफ्नो आवाज बुलन्द रूपमा उठाउन सक्ने प्रतिनिधिका रूपमा विश्वास गरेका छन्।
लोकदोहोरी क्षेत्रका चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका उपमहासचिवसमेत रहेका डाँगी लामो समयदेखि सामाजिक, सांस्कृतिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन्। विभिन्न संघ संस्थामा रहेर काम गर्दा उनले नेतृत्व, व्यवस्थापन र संगठन निर्माणको उल्लेखनीय अनुभव सङ्गालेका छन्। यही अनुभव र सक्रियताका कारण वैदेशिक रोजगार व्यवसायीहरूले उनलाई महासचिवजस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिएको विश्लेषण गरिएको छ।
वैदेशिक रोजगार क्षेत्र पछिल्ला केही वर्षयता नीतिगत जटिलता, प्रशासनिक असहजता, अन्तर्राष्ट्रिय श्रम बजारमा बदलिँदो अवस्था तथा व्यवसायिक चुनौतीसँग जुधिरहेको छ। यस्तो अवस्थामा व्यवसायीहरूको हकहितका लागि सशक्त रूपमा आवाज उठाउन सक्ने नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला हरि डाँगीको विजयलाई धेरैले आशाको किरणका रूपमा लिएका छन्।
व्यवसायीहरूका अनुसार डाँगी चुनावको समयमा मात्र सक्रिय भएका व्यक्ति होइनन्। उनी लामो समयदेखि बिना पद व्यवसायीका समस्या समाधान, सरोकारवाला निकायसँग समन्वय तथा व्यवसायिक वातावरण सुधारका लागि निरन्तर लागिपरेका व्यक्ति हुन्। विभिन्न विषयमा व्यवसायीको पक्षमा खुलेर बोल्ने र आवश्यक पहल गर्ने उनको शैलीकै कारण निर्वाचनमा उल्लेखनीय समर्थन प्राप्त भएको बताइन्छ।
महासचिव पद संघको दैनिक गतिविधि सञ्चालन, निर्णय कार्यान्वयन, सदस्यहरूको समस्या सम्बोधन, सरकार तथा सम्बन्धित निकायसँग समन्वय र संस्थागत व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीपूर्ण पद हो। त्यसैले डाँगीको विजयसँगै व्यवसायीहरूले संघ अझ प्रभावकारी, सक्रिय र व्यवसायीमुखी बन्ने अपेक्षा गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि डाँगीले आफूलाई विश्वास गरी मत प्रदान गर्ने सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गरेका छन्। उनले व्यवसायीहरूको विश्वासलाई सम्मान गर्दै अब आफ्नो अधिकांश समय व्यवसायीहरूको हित, अधिकार र वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्। व्यवसायिक सुरक्षादेखि नीतिगत सुधारसम्मका विषयमा दृढतापूर्वक आवाज उठाउने उनको भनाइ छ।
डाँगीको विजयलाई धेरैले एउटा सकारात्मक सन्देशका रूपमा पनि हेरेका छन्। लोकदोहोरीको मञ्चबाट लोकप्रियता कमाएका उनी अहिले व्यवसायिक नेतृत्वको केन्द्रमा पुगेका छन्। कला, समाजसेवा र व्यवसायलाई समानान्तर रूपमा अघि बढाउँदै आएका डाँगीले अब हजारौँ वैदेशिक रोजगार व्यवसायीको भरोसा बोकेर नयाँ जिम्मेवारी सम्हाल्न थालेका छन्।
सामाजिक सञ्जालदेखि व्यवसायिक वृत्तसम्म उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ। शुभेच्छुकहरूका अनुसार डाँगीको नेतृत्वले व्यवसायीहरूबीचको एकता थप मजबुत हुने, संस्थाको गरिमा उकासिने र वैदेशिक रोजगार क्षेत्रका समस्याहरू समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।
पहिलो प्रयासमै महासचिव पदमा प्रभावशाली विजय हासिल गरेका हरि डाँगी अहिले वैदेशिक रोजगार व्यवसायीहरूको ठूलो आशा र भरोसाको केन्द्र बनेका छन्। लोकदोहोरीका लोकप्रिय गायकबाट व्यवसायिक नेतृत्वको अग्रपङ्क्तिमा पुगेका डाँगीको आगामी कार्यकालप्रति व्यवसायी समुदायले उच्च अपेक्षा राखेको छ। उनीहरूले विश्वास व्यक्त गरेका छन् कि डाँगीले विगतमा जस्तै अब पनि व्यवसायीहरूको पक्षमा निडर, सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नेछन्।