कोरलानाकाबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा २ अर्ब बढी
News Desk
Nov-01 तारिख 06:08 बिहान • आज

मुस्ताङ । नेपाल–चीन उत्तरी व्यापारिक नाका मुस्ताङको कोरलानाकाबाट चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। वार्षिक रूपमा नौ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्षको पहिलो साढे तीन महिनामै लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो।

मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाका हुँदै २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरका वस्तु चीनबाट आयात भएका छन्। यस अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।

यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। जाँचपासपछि ती सवारीसाधन नेपालका विभिन्न गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले कुल छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु वर्षको सुरुआती महिनामै राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ।

भन्सार अधिकृत सिंहका अनुसार दसैँअघि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। दसैँपछि थप १५ दिनको अवधिमा तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो।

आयाततर्फ पनि दसैँपछि उल्लेख्य वृद्धि भएको छ। असोज २७ गतेसम्म कोरलानाका हुँदै १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका थिए। दसैँपछिको अवधिमा थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ।

विद्युतीय सवारीसाधनको आयातमा समेत तीव्र वृद्धि देखिएको छ। साउनदेखि असोज २७ गतेसम्म तीन हजार ९२६ वटा ईभी भित्रिएका थिए भने दसैँपछिको १५ दिनमै थप दुई हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको सिंहले जानकारी दिनुभयो।

रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट हुने व्यापारिक कारोबारमा वृद्धि भएको भन्सार कार्यालयको भनाइ छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उत्तरी व्यापारिक मार्ग प्रभावित हुँदा सयौँ कन्टेनरका सामान वैकल्पिक मार्गका रूपमा कोरलानाका हुँदै नेपाल भित्रिएका हुन्।

पछिल्लो समय चीनसँगको एक प्रमुख वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास भइरहेको कोरलानाका हुँदै तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल तथा दसैँ–तिहार लक्षित सामग्री आयात भइरहेका छन्। यसका अतिरिक्त विद्युतीय सवारीसाधनको आयातले पनि भन्सार राजस्व बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

नेपाल–चीन उत्तरी कोरलानाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो। अन्य प्रमुख उत्तरी नाकामा अवरोध देखिएसँगै कोरलानाकाको व्यापारिक तथा आर्थिक महत्व थप बढ्दै गएको छ।