News Desk
काठमाडौं- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट कार्यान्वनमा कठिनता हुने औल्याएका छन् । जेठ १५ गते अर्थमन्त्री बिष्णु पौडेलबाट प्रस्तुत आ.व. २०७८-२०७९ को बजेटको समिक्षा गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । राज्य दैनिकसँग कुराकानी गर्दै अध्यक्ष मल्लले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको सरकारले १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा अहिलेको अवस्थामा कार्यान्वनको पाटो एकदमै कठिन भएको औल्याएका हुन । ‘चालु बर्षमै पनि सरकारले बजेटको आकार र राजस्व उठौती लक्ष्य दुई पटक संसोधन गरेर घटायो । अहिले हामी कोभिड १९ को महामारीमै छौं र उद्योग व्यवसाय लगायत पर्यटन क्षेत्र धरासायी छन।यस्तो अवस्थामा अहिले सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै कठिन छ’ उनले भने ।
बजेटले नेपाल चेम्बर अफ कमर्सले दिएका धेरै पक्षहरु समावेश गरेको तर यो चुनावी सरकार भएकाले विगतका बर्षमा जस्तो स्थिर सरकारले गर्ने जस्तो अपेक्षा पुरा हुनेमा विश्वस्त हुने ठाउँ कम रहेको पनि अध्यक्ष मल्लले जनाए । ‘कोरोना महामारी नभएको भए केही हदसम्म राम्रो छ । तर चुनावी सरकार भएका कारण कसरी कार्यान्वयनमा लैजान्छ त्यो हेर्नु जरुरी छ’ उनले भने ‘बजेटले जीडीपी वृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य राखेको छ । कोरोना महामारीको अवस्थामा त्यो हासिल गर्न सकिँदैनकि भन्ने चिन्तामा छौं । किनकि हामी सामान्य अवस्थामा हैन विषम परिस्थितिमा छौं’ ।