News Desk
काठमाडौं-राष्ट्रिय दुग्ध विकास बोर्डले सोमबार विश्व दूध दिवसको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरि निषेधाज्ञासँगै दुध तथा दुग्ध पदार्थको खपतमा ५० प्रतिशतले कमी आएको जानकारी गराएको छ । बोर्डको कार्यक्रममा दोस्रो लहरको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दूध तथा दुग्ध पदार्थको खपतमा कमी आएको सन्दर्भ लगायत हाल दुधको अवस्थाको बारे जानकारी गराइयो ।
यस पटक कोरोनालाई मध्यनजर गर्दै "दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन" भन्ने नाराका साथ महामारीका कारण विश्व दूध दिवस भर्जुअल माध्यमबाट मनाइने कुरा पूर्वसन्धामा आयोजित भर्जुअल माध्यमको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो।
पाँच लाखभन्दा बढी कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएको, ३० हजार जनाले उद्योग तहमा रोजगारी पाएको, ३० अर्ब निजि क्षेत्रको मात्र लगानी भएको, दैनिक ६ करोड रुपैयाँ शहरबाट गाउँमा नगद प्रवाह हुने, कुल ग्रास्थ उत्पादनमा ९ प्रतिशत योगदान भएको, अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी रहेको, अर्गानिक खेतीको मुख्य पाटो पशुपालन दुग्ध व्यवसाय हाल कोरोनाका कारण थला परेको कुरा पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो । बोर्डको तथ्यांक अनुसार निषेधाज्ञाका कारण व्यवसायीसँग ठूलो मात्रामा दूध तथा दुग्ध पदार्थ मौज्दात रहेको छ । सरल अवस्थामा ८ लाख ५० हजार लिटर दुध नियमित संकलन हुने गरेकोमा हाल ४ लाख ३५ हजारको हाराहारी फर्मल सेक्टरमा संकलन हुने गरेको छ । त्यस्तै इनफर्मल सेक्टरमा पहिले करिब १० लाख लिटर खपत हुँदै आएकोमा अहिले भने ७ लाख लिटर करिब संकलन तथा बजारीकरण भएको तथ्यांक छ । यसरी हेर्दा नर्मल अवस्थामा ३१ लाख लिटर दूध खपत हुने गरेकोमा अहिले भने करिब १३ लाखको हाराहारी दैनिक खपत भएको उल्लेख गरिएको छ । यसैगरी, ४ हजार एक सय मेट्रिक टन धुलो दूध र २ हजार ५ सय मेट्रिक टन बटर मौज्दात रहेको कुरा पनि उल्लेख छ ।
मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन समस्या भएको छ । ठुलो मात्रामा मौज्दात हुँदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको जनाईएको छ ।
बोर्डले भोलि (मंगलबार) विश्व दूध दिवस मनाउँदै छ । साथै अन्य सरोकारवालाहरुले पनि आ-आफ्नो तरिकाले गत सालको जस्तो नभए पनि दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने छन् । नेपाल डेरी एसोसिएसनका अनुसार एसोसिएसनका ७ वटै प्रदेश र जिल्ला तहमा हस्पिटल,
सुरक्षाकर्मी, क्वारेन्टाइन सेन्टर, बालबालिका तथा जेष्ठ नागरिक आश्रममा दूध तथा दुग्ध पदर्थ वितरण गरि मनाइने छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि संगठनले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।
नेपालमा सन् २०११ बाट सरोकारवालाहरुको अग्रसरतामा विश्व दूध दिवस मनाउन सुरु गरेको हो । सन् २०१२ बाट राष्ट्रिय दग्ध विकास बोर्डले सरोकारवालाहरूलाई सहभागी गराई नियमित विश्व दूध दिवस कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
आजको पत्रकार सम्मेलन बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबको अध्यक्षतामा भएको थियो भने कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी तिरका निमित्त सचिव डा. बिमल कुमार निर्मल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सरोकारवालाहरुबाट नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव प्रल्हाद दाहाल, एसोसिएसनका प्रदेश र जिल्ला समितीबाट पनि सहभागीता रहेको थियो। त्यसैगरी डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, डिडिसिका महाप्रबन्धक रुद्र पौडेल, उप-महाप्रबन्धक राजेन्द्र अधिकारी, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देबकोटा एवं जिल्ला प्रदेशका पदाधिकारी, केन्द्रिय पशुपन्छी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डेरी साइन्स एसोसिएसनका अध्यक्ष टेक बहादुर थापा, पशु बिभागका प्रबक्ता चन्द्र ढकाल लगायत करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत बोर्डका उप कार्यकारी निर्देशका बाबुकाजी पन्तले गरेका थिए भने पत्रकार सम्मेलनमा बोर्डका प्रविधिक निर्देशक बालक चौधरीले प्रेस रिलिज पढेर सुनाएका थिए ।