News Desk
काठमाडौं, २० जेठ -साल्ट ट्रेड्रिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने एलपी ग्यास ११ सय २० मा र चिनी प्रतिकेजी रु. ६३ रुपैयाँ २० पैसामा बिक्री गर्ने भएको छ । कर्पोरेशनले बिहिवार सुचना जारी गर्दै नयाँ दर रेट बारे जानकारी दिएको हो । कर्पोरेशनले सार्वजनिक गरेको मूल्यसूचीमा खाद्यान्न र खाना पकाउने ग्याँसको सस्तो मूल्य अंकित छ ।lसरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो ।
जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्याँसको भाउ ११ सय २० रुपैयाँ तोकिएको छ । त्यस्तै पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा कायम गरिएको छ ।
पाँच जनाको परिवारले एक महीनामा दुई किलो पीठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्याँस मात्र किन्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक पंकज जोशीले जानकारी दिए । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । कर्पोरेशनले काठमाडौं उपत्यकामा मात्र खाना पकाउने ग्याँस बिक्री गर्दै आएकाले ग्यासको हकमा उपत्यकाबासीले सुविधा उपयोग गर्न पाउने छन ।