नोटमा हस्ताक्षर गर्न नपरोस भन्ने योजना लिएर अघि बढेको छु : गभर्नर अधिकारी 
News Desk
Jun-06 , 2021 तारिख 05:24 बेलुका

काठमाण्डौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नोटमा हस्ताक्षर गर्न नपरोस भन्ने योजना लिएर आफु अघि बढेको उल्लेख गर्दै विधुतिय कारोबार गर्ने सवाल समयको माग रहेको बताएका छन्  । मिडिया इन्टरनेशलद्वारा आईतबार  आयोजित फाइनान्सियल डिजिटलाइजेसन लिटिरेसी बिषयक   वेमिनार कार्यक्रमको उदघाटन गर्दै उनले सो धारणा राखेका हुन ।  सो अवसरमा उनले अहिलेको शताब्दीमा डिजिटल कारोबारको विकल्प नरहेको उल्लेख गर्दै वित्तिय प्रविधि साक्षरता बढाउन नेपाल राष्ट्र बैंक लागि पर्दै आएको स्पस्ट समेत पारे । गभर्नर अधिकारीले क्युआर कोड, वालेट जस्ता प्रविधिको सुविधा उपलब्ध भए पनि त्यसको प्रयोग गर्ने तप्काले उपयोग गर्ने वातावरण तयार गर्न मार्केटिङ्को आवश्यकता रहने उल्लेख गरे । साथै उनले  अधिकारीले डिजिटल प्लेटफर्मलाई वित्तिय कारोबार मैत्री बनाउन राष्ट्र बैंकले उपयुक्त नियमहरु तर्जुमा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।  

त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष  चन्द्र प्रसाद ढकालले  वर्तमान समयमा फाइनान्सियल डिजिटलाइजेसन आर्थिक कारोबारको हिसाबले धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको पहुँच ग्रामीण दुरदराजसम्म बिस्तार गर्नका लागि जनजिविका र उत्पादनसँग जोडनु पर्ने खाँचो औल्याए ।  साथै  वरिष्ठ उपाध्यक्ष  ढकालले वित्तिय प्रविधि  साक्षरता कार्यक्रम बेगर वित्त र गैर वित्त दुवै क्षेत्रले लक्ष्य हासिल गर्न नसक्ने धारणा समेत राखे ।         

यसैगरि  नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले भौतिक उपस्थिती बेगर कारोबार गर्दा समयको बचत र वित्तिय पारदर्शिता कायम हुने उल्लेख गर्दै यसका लागि प्रविधिको उपयोगिता सन्दर्भमा वित्तिय साक्षरता कार्यक्रमले ठुलो योगदान पुर्याउने धारणा व्यक्त गरे ।साथै उनले वित्तिय कारोबारको क्षेत्रलाई व्यवस्थित तुल्याउदै अघि बढनुको विकल्प नरहेको पनि बताए ।  

बैकर्स संघका पुर्व अध्यक्ष समेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले प्रविधि र वित्त क्षेत्र बीच घनिभुत सम्बन्ध रहेको बारे चर्चा गर्दै  फाइनान्सियल डिजिटलाईजेसन लिटिरेसी का माध्यमबाट सेवाग्राही, बैंकिङ क्षेत्र सहितका क्षेत्रले लाभ हासिल गर्ने आशय व्यक्त गरे । अध्यक्ष  पौडेलले सन १९८४/८५ देखी नेपालको बैकिङ क्षेत्रमा प्रविधिको उपयोग गर्ने थालनी भएकामा हालसम्म आईपुग्दा धेरै प्रगती भएको बताए । ग्लोबल फाइनान्सियल क्राइसिसले बैंकलाई अझ व्यवस्थित बनाउनु पर्ने स्थिती देखिएको बताएका उनले स्कुल कलेज देखी साक्षरता कार्यक्रम अघि बढाउनु पर्ने खाँचो समेत औल्याए  ।  

त्यसैगरि जीवन बिमक संघका कोषाध्यक्ष तथा रिलायन्स इन्सुरेन्सका सिईओ प्रविण रमण पराजुलीले त्यसै पनि टेक्लोलोजीको महत्व रहने अवस्था माझ कोभिडले अझ यसको महत्व बढाएको उल्लेख गरे ।  साथै उनले डिजिटल लिटिरेसी आजको आवश्यकता रहेको सन्दर्भमा बिमालाई पनि यो कमन  प्लेफर्मले महत्व राख्ने बताए ।                       

कार्यक्रममा लघु वित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघु वित्त संस्थाहरु ग्रामिण क्षेत्रमा काम गरिरहेको सन्दर्भमा  लघु वित्त सदस्यहरुलाई साक्षर बनाउन कार्यक्रमलाई गाउँ घर सम्म पुर्याउनुपर्ने आवश्यकता औल्याए ।  

त्यसैगरि बैंक तथा बित्तिय संस्था संघका अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाईजेसन लिटिरेसीको प्रबर्द्धन अभियानमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खेल्ने गरेको भूमिकाको सर्हाना गर्दै कृषिमा पनि डिजिटल प्रविधिको प्रयोग बढाउन 

किसानसम्म साक्षरता कार्यक्रम लिएर जानुपर्नेमा जोड दिए ।  

त्यसैगरि फर्वाड लघु वित्त संस्थाकी अध्यक्ष तथा पुर्व मन्त्री भगवती चौधरीले प्रविधिमा आधारित रहेर कारोबार गर्ने वातावरण तयार पार्न कार्यक्रमलाई  स्थानिय स्तरसम्म लैजानु पर्ने बताइन । साथै उनले हाल हात हातमा मोबाईल पुगेको अवस्थामा घर मै बसेर यो सेवा उपयोग गर्न सकिने हुँदा फाइनान्सियल साक्षरतालाइ प्रबर्धन गर्नुपर्ने विचार राखिन ।  

डेभलपमेण्ट बैंकर एशोसियसनका अध्यक्ष तथा मुक्तीनाथ विकास बैंकका सिईओ प्रधुम्न पोखरेलले वित्तिय समावेशीता र पहुँच बिस्तारका लागि डिजिटल फाइनान्सको सान्दर्भिकता बारे प्रकाश पार्दै प्रविधिलाई  डिजिट पेमेन्टसँग मात्र नभई  खाता खोल्न, ॠण प्रवाह गर्ने लगायतका काम गर्नका लागि पनि नयाँ नियम ल्याउन जरुरी रहेको बताए ।  

नेपाल क्लियरिङ् हाउसका सिईओ निलेशमान सिंह प्रधानले नेपालमा बैंक र गैर बैकिङ क्षेत्रले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आएको उल्लेख गर्दै प्रविधिलाई कसरी ग्राहक मैत्री बनाउने र सुरक्षालाई कसरी प्रत्याभुत गर्ने भन्ने सवाल टडकारो रहेको बताए । साथै उनले सरकारी सेवामा पनि डिजिटल आय गर्ने सवालमा बढोत्तरी हुँदै गएको उल्लेख गरे ।                       

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै मिडिया इन्टरनेशनलका प्रमुख माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेसन लिटिरेसी कार्यक्रमलाई देशका ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको बताए ।  

कार्यक्रममा बैक, बिमा, लघुवित्त क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।