चेम्वर अफ कमर्स र  चिकित्सक संघको टेली मेडिसिन सेवाबाट  दैनिक ३०० जना लाभान्वित  
News Desk
Jun-07 , 2021 तारिख 12:56 बेलुका

काठमाण्डौं- नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघद्धारा संचालित  टेली मेडिसिन सेन्टरबाट दैनिक ३०० जना लाभान्वित बनेको चेम्बरले जनाएको छ । कोभिड तथा ननकोभिड बिरामीहरुलाई  दैनिक परामर्श सेवा प्रदान गर्दे आईएको परिप्रेक्ष्यमा उक्त सेण्टरबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले परामर्श सेवा प्राप्त गर्दै आएको चेम्वरले जानकारी दिएको हो ।

कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढी रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट २०७८ जेठ १६ देखि टेली मेडिसिन सेन्टर बाट परामर्श सेवा शुभारम्भ गरिएको थियो । 

  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य विरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।  

नेपाल चेम्वर अफ कमर्सको मुख्य प्रायोजनमा संचालित सो केन्द्रलाइृ साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानले सह प्रायोजन गरेका छन्  । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डाक्टर एप डाउनलोड गर्न सक्नेछन् ।