News Desk
काठमाडौं- बजेट मार्फत निजी कम्पनीलाई नुन बिक्री गर्न दिने अनुमति दिनु शंकास्पद रहेको कञ्जुमर आई नेपालले जनाएको छ । उपभोक्ताको स्वास्थ्य माथी प्रत्यक्ष प्रभाव पार्ने आयोडीनयुक्त नुन सरकार साँझेदार संस्था साल्ट ट्रेडिङले सुपथ मूल्यमा देशभर सहज आपूर्ति र विक्री वितरण गर्दै आइरहेको अवस्थामा गलत मनशायका साथ खुला प्रतिस्पर्धामा लैजान खोज्नु गलत भएको विज्ञप्ति मार्फत कञ्जुमर आई नेपालले जनाएको हो । कोरोना महामारीका कारण सिंगो मुलुक नै आतंकित भैरहेको र कोरोना संक्रमितहरूको औषधि र स्वास्थ उपचारमा नै कालोबजारी भैरहेको उपभोक्ताको गुनासो रहेको पनि संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैवीच सरकारले हालै सार्वजानिक गरेको वजेट भाषण मार्फत सवै तह र क्षेत्रका उपभोक्ताले उपभोग गर्ने आयोडीनयुक्त नुनमा अनुदान दिई सरकार नियन्त्रित साँझेदार संस्थाले आपूर्ति र वितरण गरिरहेकोमा निजी कम्पनीलाई विक्री वितरण गर्न दिने अनुमतिको जनस्वास्थ माथिकै खेलवाड भएको कन्जुमर आईले ठह्र्याएको छ ।
‘उपभोक्ताको स्वास्थमाथी प्रत्यक्ष प्रभाव पार्ने आयोडीन युक्त नुन सरकार साँझेदार संस्था साल्ट ट्रेडिङले सुपथ मूल्यमा देशभर सहज आपूर्ति र विक्री वितरण गर्दै आइरहेकोमा वजेट मार्फत निजी कम्पनीलाई अनुमति दिनु शंकास्पद रहेको र त्यसरी सहभागी गराउनु भनेको बजारका अन्य वस्तुमा जस्तै नुनमा पनि कालोबजारी , कृतिम अभाव र न्यूनगुणस्तरको हुनगई आम उपभोक्तामा प्रतिकुल असर पर्ने हुदा उक्त वजेट शिर्षक २११ लाई खारेज गरी नुनको सहजतामा ध्यानदिन कञ्जुमर आई नेपाल अनुरोध गर्दछ’,’संविधानले समेत प्रदत्त गरेको उपभोक्ताको हकमा गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने हक साथै सरकारले जनता समक्ष गरेको प्रतिवद्धता र दायित्व नै उल्टाउदै गरिएको निर्णय प्रति यस संस्थाले गंभीर ध्यानाकर्षक गराउदछ। जनताले सुलभ रूपमा पाईरहेको आयोडिनयुक्त नुनमा समेत निजी व्यापारकालागी अनुमति दिनु वदनियतपूर्ण कदम हो। यसै विज्ञप्ति मार्फत उक्त निर्णय तत्काल फिर्तालिन जोडदार माग समेत गर्दछ’ कन्जुमर आईद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।