News Desk
असार ४, २०७८
काठमाडौँ -कोभिड–१९ को महामारी उत्थानशील पुनरुत्थानका लागि विश्व बैंकले नेपालका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ५५ करोड) विकास नीति ऋण प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले बिहीबार ऋण स्वीकृति दिएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘महामारीको सामाजिक र आर्थिक प्रभावको अवस्थामा हाम्रो प्राथमिकता प्रभावित जनसंख्यालाई तत्काल राहत पुर्याउने र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा सघाउने हो,’ विश्व बैंकका लागि नेपालसहित श्रीलंका र माल्दिभ्सका निर्देशक फारिस हदाद जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वृद्धि, पुनरुत्थान र उत्थानशीलताका लागि पद्धतिगत वित्तीय नीति कार्यक्रमले नेपालको कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन र सार्वजनिक पुँजी खर्चसहित संस्थागत र नियमनकारी भूमिका सुदृढीकरणका लागि सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।
यो ऋणले तत्काललाई स्वास्थ्य उत्तरदायित्वका लागि सहायता गर्नुका साथै सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, निजी क्षेत्रलाई पुँजी तथा डिजिटल समाधानमा पहुँच पुर्याउन साथै हरित पुनरुत्थान गर्न नियमनकारी जग बसाल्न सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ ।