खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरुबीच कार्यगत एकता आवश्यक : चेम्बर अध्यक्ष
News Desk
Aug-04 , 2021 तारिख 07:50 बेलुका

काठमाडौं-नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरु बीच कार्यगत एकता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्वर भवनमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन ।

उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए। यस अवसरमा अध्यक्ष मल्लले भने ’विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ । कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समय सम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नुपरिरहेको सर्व बिदितै छ । खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरु बीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको छ’ ।

अध्यक्ष मल्लले निजी क्षेत्रसँग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्वोधन हुन सकेको नसकेको प्रति रोष व्यक्त गर्दै यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था बीच एकताको आवश्यकता रहेको औंल्याए ।

सो अवसरमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि धन्यवाद व्यक्त गर्दै स्वागत कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था बीच एकताको सन्देश दिएको बताउदै भने ‘बिगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु छन जुन धेरै प्रभावकारी रहेको छ’ । अध्यक्ष अग्रवालले बिभिन्न व्यवसायहरु वीच मतमतान्तर हुनु स्वाभाविक भएता पनि मुलुकको आर्थिक विकासको सवालमा एउटै मत रहेको बताए । निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाइ मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि निजी क्षेत्रका अग्रणी संगठनहरु एकजुट भएर अगाडी बढनुपर्ने बेला आएको पनि उनले बताए ।

सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजवहादुर शाह, हेमराज ढकालको उपस्थित रहेको थियो भने नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर प्रचार प्रसार समितिका सभापति सन्तोष कुमार पाण्डेको उपस्थिति रहेको थियो ।