‘नेपालको पानी जनताको लगानी’ अवधारणाले अर्थतन्त्रलाई समृद्ध बनाउँछ: नेपाल चेम्बर
News Desk
Aug-17 , 2021 तारिख 10:14 बेलुका

काठमाडौँ- नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले आज उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ । भेटका क्रममा अध्यक्ष मल्लले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पदमा नियुक्त भएकोमा भुषाललाई नेपाल चेम्बरको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे ।

सो अवसरमा चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने बताए । यस सन्दर्भमा जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोले ‘नेपालको पानी जनताको लगानी’ अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलाई समृद्ध बनाउन र गरिवी निवारणमा टेवा पुग्न जाने बताए । 

यसका अतिरिक्त चेम्वर अध्यक्ष मल्लले रेमिट्यान्स वापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको परिस्थितिमा बैंकिङ च्यानल मार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको औल्याए । 

साथै भारत,बंगलादेश लगायत दक्षिण एशियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइ रहेकाले ती मुलुकहरुमा बिद्युत बजार बिस्तार गर्न निरन्तर रुपले कुटनीतिक पहल गरिनु पर्ने बताउनु हुंदै बिद्युत उर्जा मार्फत पेट्रोलियम पदार्थको आयात बिस्थापन गर्न स्थानीय स्तरमा बिद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि आग्रह गरे । उर्जा क्षेत्रमा लगानी वढाउन हेजिङ सम्वन्धी व्यवस्था, जग्गा प्राप्तीको लागि सरलीकरण, आयकर छुट,प्रसारण लाइन र सबस्टेशन निर्माण सम्वन्धी रणनीतिक योजना वारे पनि सुझावहरु प्रस्तुत गरे । 

सो अवसरमा उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री भुषालले मुलुकको समृद्धिको आधारशीला कृषि,उर्जा तथा पर्यटन क्षेत्र रहेको बताउँदै कृषि क्षेत्रकोका विकासको लागि बिद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने बताइन् । यसका लागि सिंचाइको लागि सहुलियत दरमा विद्युत प्रदान गरिने स्पष्ट पारिन् । साथै बिपन्न वर्गको लागि २० युनिट बिद्युत निःशुल्क प्रदान हुने पनि मन्त्री भुषालले जनाईन्। 

पेट्रोलियम पदार्थ माथीको निर्भरतालाई न्युन गर्न बिभिन्न रणनीति लिइएको र आन्तरिक खपत वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित रहेको बताइन् । बिद्युत वढि खपत हुने उद्योगहरु ल्याउन समेत आग्रह गरिन् । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ,सन्तोष पाण्डे,सुरेन्द्र शारडा तथा चेम्वर अन्तरगत उर्जा समितिका सभापति नरेन्द्रवल्लभ पन्त तथा सहसभापति उत्तरकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।