निराशा माझ आशाको दियो खोज्दै पर्यटन व्यवसायी
News Desk
Aug-17 , 2021 तारिख 10:59 बेलुका

 काठमाडौं- निराशा माझ आशाको दियो खोज्दै पर्यटन व्यवसायीहरु जुर्मुराएका छन् । निराशा माझ पर्यटन क्षेत्र सम्बद्ध छाता संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरि ज्ञापन पत्र बुझाएका छन् । विभिन्न माग राख्दै उनीहरुले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन । पर्यटन व्यवसायीहरुले कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुन सुरुवातका लागी खोप एक मात्रै विकल्प रहेको जनाउदै छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन्। नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायिहरुले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पिसिआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग अघि सारेका छन् ।

कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेपनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायिहरुले जोड दिएका छन् । त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरुले माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्या सँग आफू जानकार रहेको र फ्रण्टलाइनरलाई खोप लगाउन कसरत गरिरहेको बताए । क्वारेन्टाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केहीदिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने उनले बताए ।

भेटका क्रममा पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । विशेष पर्यटकिय गन्तव्यका स्थलका सर्वसाधारणहरुलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकिय गन्तव्यहरुलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको समेत उनले जानकारी गराए ।

सो अवसरमा टानका अध्यक्ष खुम बहादुर सुवेदीले सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरु खुलेनन् भने पर्यटन व्यवसायिहरु पलायन हुने र व्यवसायी पलायन हुँदा यहाँबाट रोजगारी पाएका जनशक्तिसँगै सबैको लगानी नै खतरामा पर्ने बताए ।

भेटका अवसरमा नाटाका अध्यक्ष अच्युत गुरागाईंले व्यवसायिहरु सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेको कुरा जानकारी गराउँदै सी सी एम सी को टीममा एक जना भएपनि पर्यटन व्यवसायीलाई समेटिदिन आग्रह गरे ।

पर्यटन सम्बद्ध यी संस्थाहरुले बारम्बार क्वारेन्टाइन हटाउन र खोपको माग गर्दै ज्ञापपत्र बुझाउँदै आएता पनि अद्यापीसम्म पनि कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले सकारात्मक निर्णय लिन सकेका छैनन् ।